राजेश”पायल”राई संग गीत गाउने रहर छ : गायिका वसन्ती लिम्बु “द्रोना”

basantiविक्रम सम्बत २०४४ सालमा पिता रामप्रसाद थोक्लेङ र माता मइतमाया थोक्लेङको कोखबाट कान्छी छोरिको रुपमा जन्मिएकी हुन् वसन्ती लिम्बु “द्रोना” । उनको जन्मथलो पाँचथरको कुरुम्बाङ हो । कुरुम्बाङ गाउँकै शिंहदेवी मावि (हाल उच्च मावि) बाट प्रारम्भिक शिक्षा सुरु गरेकी वसन्तीले श्री चिसोपानी उच्च मावि बाँझो ५ इलामबाट एसएलसि उत्तीर्ण गरिन् । त्यसपछि पारिवारिक र ब्यबहारिक परिबन्धमा परेर अरु थप अध्यन गर्न नसकेको उनको दुखेसो छ ।

वसन्ती आफ्नो सानै उमेरदेखि गीत गाउथिन् । स्कुलको अतिरिक्त प्रोग्राममा धेरै पटक गीत गाइन, सर र साथीहरुले बसन्ती तिम्रो स्वर त धेरै राम्रो छ है भनेर भन्दा उनी फुरुङ्ग हुन्थिन् तर त्यतिबेला पछि गएर म गायिका नै हुन्छु भन्ने कहिले पनि नसोचेकी बताउछिन् । वसन्ती संग सुमधुर स्वर त थियो नै त्यो स्वरलाई अझ निखार बनाउन चाहिँ बसन्तीको आमा कारण बन्यो।

“आमा क्यान्सरले ग्रस्त भएर चार बर्षसम्म भरतपुर क्यान्सर अस्पताल बस्नु भो, घरका आफूभन्दा जेठो दाजु दिदीहरुले खासै आमाको रेखदेखमा चासो चिन्ता देखाउनु भएन, म कान्छी छोरी सबै भन्दा सानी मैले सबै थोक त्याग्न सक्थे यहाँ सम्मकी मेरो प्राण पनि, किनकी मेरी आमा मेरो लागि सबथोक थिईन् । त्यसैले म निरन्तर आमाको रेखदेखमा भरतपुर अस्पतालमा आमाको हेरचाह गर्दै एक्लै कैयौ महिना बसे । पाँचथरदेखि कैयौ पटक एक्लै भरतपुर आउने जाने गर्नुपर्दा त्यतिबेला मेरो मन साह्रै भक्कानिन्थ्यो । कैयौ पटक रुदै-रुदै अरुणा लामा, तारा देबि र नारायण गोपालको गीतहरु गएकी छु । कबिता/गजलहरु लेखेर धेरै कापीका पानाहरु सिध्याएपछि आमा पनि बित्नु भयो । त्यसपछि त झन म सम्हालिनै सकिन र मेरो साहारा गीत नै बन्यो, म मनको पीडा गीत मार्फत गुनगुनाएर ओकल्न थाले,गजल कबिता लेखेर कापीको पानाहरुमा पीडा पोख्न थाले, एक किसिमले म पागल जस्तै भएँ” वसन्तीले आफ्नो विगत सुनाईन् ।

मातृ वियोगमा जलेर घाँस-दाउरा मेला-पातहरुमा गीत गुनगुनाउदै हिड्न थालेकी वसन्तीको आवाज गायक कोमल निरौला,देवी गौतम,राजेश चाम्लिङ, संगीतकार सुमन दियाली,सुर-ताल संगीत स्कुलका गुरुहरुले सुने । उहाँहरुले तिम्रो स्वर धेरै राम्रो छ है भनेर हौसला दिनुभयो । त्यसपछि मेला र उत्सव तिर हुने स्टेज प्रोग्राम तिर गाउन भनी उत्साहित भएर गीत गाउन थालिन् । अहिले त इलाम पाँचथर तिरका स्टेज प्रोग्रामहरु वसन्ती बिना अधुरो हुने अवस्था छ।

वसन्तीको गायन स्टेज प्रोग्राममा मात्र सिमित भएन, उनी आफ्नो कलालाई प्रस्तुत गर्न र केही सिक्न अनलाइनमा छिरीन् । त्यहाँ गीतकार अन्जान किराँती संग भेट हुनपुग्यो र उहाँ मार्फत धेरै सिक्ने मौका मिल्यो । पछि अनलाइनमै वसन्तीको मिल्ने साथी अशिम चाम्लिङ मार्फत प्रतिभा परिवारका वरिष्ठ सदस्य गीतकार तथा संगीतकार देबिनबाबू राई संग भेटभयो । देबिनबाबू मार्फत प्रतिभा परिवारले एल्बम गरिरहेको र परिवारले विशेष त नयाँ प्रतिभालाई ब्रेक दिने निर्णय गरेको जानकारी पाईन् । वसन्तीले सोचिन आफ्नो कला प्रस्तुत गर्ने सुन्दर प्लेटफर्म भनेको प्रतिभा परिवार नै हो । फलस्वरुप वसन्तीको अनुरोध र देबिनबाबू राईको प्रस्ताबमा प्रतिभा परिवारको संयोजक राज “रोबट” अजनबी मार्फत उनी प्रतिभा परिवारमा छिरिन् ।

गायन करिअरमै पहिलो पल्ट गीत रेकर्ड गर्न प्रतिभा परिवार बाट ब्रेक पाएकी बसन्तीले प्रतिभा एल्बममा एउटा डुइट गीत गायक संगीतकार सुमन राई संग गाएकी छिन् , जुन गीत प्रतिभा परिवारको वरिष्ठ सदस्य गीतकार/साहित्यकार दिलिप राई “सगर” ले लेख्नु भएको हो भने अर्का वरिष्ठ सदस्य संगीतकार देबिनबाबू राईले संगीत भरेका छन् । यो गीत प्रतिभा एल्बम भाग १ मा समाबेस छ ।

प्रतिभा एल्बममा गीत गाइसकेपछि गायक/गायिका देबि गौतम र निर्मला चौहान संग संयुक्त रुपमा अर्को गीत पनि रेकर्ड गर्ने अवसर पाईन् । अब अरु दुई गीत रेकर्डिङको तयारिमा रहेको बताउने बसन्तीलाई “राई इज किङ” गायक राजेस “पायल” राई संग डुइट गीत गाउन पाए हुन्थ्यो भन्ने रहर मात्र होइन संगीतकार ताराप्रकाश लिम्बूको संगीतमा स्वर दिने चाहाना रहेको बताईन् ।

प्रस्तुति :- राज “रोबर्ट” अजनबी

Leave a Reply

Your email address will not be published. Required fields are marked *