काठमाडौ- स्थानीय चुनावमा नेपाली कांग्रेससँग तालमेल गरेको नेकपा माओवादी केन्द्र एकाएक नेकपा एमाले सित चुनावमा तालमेल सँगै पार्टी एकता गर्ने निर्णय गरेपछि राजनीति ह्वात्तै तातेको छ ।
यसको प्रभाव गाउँगाउँसम्म परेको छ। काठमाडौँमा तीन वामपन्थी दलको एकताको घोषणा भइरहँदा कपिलवस्तुमा भने ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार पाँच सय नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको एमालेकाे दावी छ। एमाले कपिलवस्तुले मंगलबार पकडीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित प्रभावशाली नेता एमालेमा प्रवेश गरेका हुन्।
महाराजगञ्ज नगरपालिका–१० का वडा अध्यक्ष शैलेन्द्र चौधरी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष इसरार मोहम्मद खाँन, माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद चौधरी, राजपाका जिल्लास्तरका नेता जगन्नाथ कुर्मी, नवीन चौधरीलगायत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्। वडाध्यक्ष चौधरी स्वतन्त्रबाट निर्वाचित भएका थिए।
पार्टी प्रवेशीलाई एमालेका सचिव प्रदीप ज्ञवालीले टीका लगाएर स्वागत गरेका थिए। सो अवसरमा छोटो मन्तव्य राख्दै उनले, प्रदेश र संघको निर्वाचनमा जाँदा माओवादी केन्द्र पनि सूर्य चिह्न लिएर चुनाव लडेर देशव्यापी रुपमा केन्द्र र प्रदेशमा बहुमतको सरकार बनाउने दाबी गरे।