गोपाल किरातीले माओवादी केन्द्रलाई पुनर्गठन गर्ने (विज्ञप्ति सहित)

काठमाडौं । माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किरातीले माओवादी केन्द्र र एमाले बीच भएको ध्रुविकरणमा असन्तुष्टि व्यक्त गरेका छन् ।नेकपा एमालेसँग पार्टी एकताको विषयमा फरक मत राख्दै आएका माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले पार्टी पुर्नगठन गर्नुपर्ने परिस्थिती आएको भन्दै पार्टीका नेता, कार्यकर्ता र आम युवाहरुसँग भेला आयोजक समिति निर्माणका लागि जुट्न पनि आव्हान गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेर आत्मसमर्पण गराएको भन्दै नेता किरातीले पार्टी पुर्नगठनको तयारी थालेका हुन । एमालेमा पार्टीलाई विलय गराएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रति असन्तुष्ट बनेका उनले पहिचानको मुद्धामा सहमत सबै माओवादी पक्षधरहरु पुर्नगठनमा लाग्ने दाबी गरेका छन् ।

माओवादीका धेरै नेताहरु उनको निर्णय प्रति असन्तोष भएपनि चुनौती मोल्न नसक्दा कान थुनेर बसेको भन्दै अब आखाँ र कान दुबै खोलेर नयाँ ढंगले सोच्न आग्रह समेत उनले गरे ।

उनले सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी निर्वाचनमा पहिचानविरोधी उम्मेदवारलाई भाटे कारबाहीको तयारी गर्न क्रान्तिकारी युवाहरुलाई आग्रह समेत गरेका छन् ।

पार्टीको सचिवालय बैठकमा एकताको विपक्षमा एकलै उभिएका नेता किराँती भोजपुर पुगेर विज्ञप्ति जारी गदैं पार्टीको कुनै पनि तहमा औपचारिक निर्णय नगरी पार्टीलाई एमालेमा विलय गराउने प्रचण्ड समूहको कदम दक्षिणपन्थी विसर्जजनवाद भएको र त्यसको चौतर्फी भण्डाफोर गर्नुपर्ने बताएका छन् ।

माओवादी केन्द्र पार्टी पुनर्गठन गर्न भेला आयोजक समिति बनाउनुअघि एक पटक प्रचण्डसँग वार्ता गर्ने उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ

चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनर्गठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।

१) मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।

२) पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।

३) सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।

४) भेला आयोजक समिति गठन अघि एक पटक श्री प्रचण्डसँग वार्ता गरिनेछ ।

५) चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।

गोपाल किराँती
नेकपा माओवादी केन्द्र, सचिवालय सदस्य
हाल– आम्चोक गाउँपालिका, भोजपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *