शिक्षिकाको सहयोगमा शैक्षिक सामग्री प्रदान

अरुण, भोजपुर, २० माघ – अरुण गाउँपालिका–५, कट्टीस्थित पञ्चकन्या आधारभूत निम्न माध्यमिक विद्यालयको ५९ औँ वार्षिक उत्सव भव्यरूपमा मनाइएको छ ।

उक्त अवसरमा सोही विद्यालयमा कार्यरत शिक्षिका तथा कवि प्रतिमा पोख्रेलको सौजन्यमा असहाय तथा अभिभावकविहीन १२ जना बालबालिकालाई पोसाक तथा विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद लोकमणि ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर राई र प्रधानाध्यापक शालिकराम ढकाललगायतले उक्त सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

असहाय तथा अभिभावकविहीन बालबालिकालाई थोरै भए पनि राहत पुगोस् र उनीहरूलाई पढ्न हौसला मिलोस् भन्ने उद्देश्यले आफ्नो तलबबाट केही रकम छ्ट्याएर सहयोग गरेको शिक्षिका पोखरेलले बताइन् । उनले भनिन्, ‘मसँग धन भएर होइन मन यो सानो सहयोग गरेकी हुँ ।’ उनले गत वर्षबाट यस्तो सहयोग थालेकी हुन् ।

पूर्व सांसद ढकालले सहयोगका लागि शिक्षिका पोखरेललाई धन्यवाद दिँदै भने, ‘मनकी धनी प्रतिमा मिसबाट हामीले पनि समाजसेवा सिक्नु जरुरी छ । उनको यस कार्यले हाम्रा पनि आँखा खुलेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *