शरदकुमार गौचनलाई गोलि हानि हत्यागर्ने गुम्वेलाई प्रहरीले समात्यो

काठमाडौं : फरार अभियुक्त श्याम लामा गुम्वेलाई प्रहरीले केही समयदेखि खोजिरहेको थियो। नेपाली सेनाका भगौडा गुम्वे नेपाल प्रहरीका लागि टाउको दुखाइ नै बनेका थिए। इलामको काजीध्वज गणबाट गुम्वे भागेका थिए।

गत वर्ष पुष ४ गते एमाले भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई रुपन्देही र नवलपरासीको सीमामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार गर्ने गुम्वे नै भएको प्रहरीको निष्कर्ष थियो। तिवारीमाथि गोली प्रहार भएको वर्ष दिन नबित्दै काठमाडौंमा उस्तै घटना घट्यो। नयाँ बानेश्वरको प्रयाग चोकमा निर्माण व्यवसायी शरदकुमार गौचन गोलीको सिकार भए। प्रहरीको अनुसन्धानले गोली हान्ने मुख्य सुटर गुम्वे नै रहेको तथ्य पहिचान गर्‍यो।

यो हत्यालाई सफल बनाउन शिवजी महतोले भारतको बेतियाबाट ५५ हजार रुपैयाँमा हतियार खरिद गरी ६५ हजार रुपैयाँमा गुम्बेलाई बिक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। गौचनको हत्यामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरे पनि गुम्वे भने फरार थिए।

केन्द्रीय अनुसन्धान व्यूरोले गौचनको हत्यामा संलग्नलाई खोजी गरिरहेको थियो। केही दिनअघि मात्र व्युरोको टोलीले मिल व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको थियो। यी दुई पनि प्रहरीका लागि गुम्वे खोज्ने आधार बने।

गुम्वे चितवनमा लुकेर बसेको व्यूरोलाई सुचना आयो। यही क्रममा व्यूरोको टोली केही दिनअघि चितवन पुगेर गुम्वेको खोजी थाल्यो। सोमवार रात सर्च गर्दा गुम्मे लुकेर बसेको ठाउँ चम्पानगरमै प्रहरी पुग्यो र पक्रियो। व्यूरोका डिआइजी पुष्कर कार्की भन्छन्, ‘भरपर्दो सुचनाको आधारमा गुम्वेलाई चितवनबाट पक्राउ गर्ने सफल भएका हौं।’

३२ वर्षीय गुम्वेलाई व्युरोले मंगलवार नै राजधानी ल्याएर महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ। गौचन र तिवारी दुवैको मुख्य सुटर गुम्बे नै भएको डिआइजी कार्की बताउँछन्। ‘तिवारी र गौचन दुवैकोमा उसको मुद्दा चलेको छ,’ उनले भने।

काठमाडौंको गौरीघाटमा गुन्डा नाइके दावा लामा माथि गोली प्रहार भएको घटनामा पनि गुम्वेको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ। गुम्वे समिरमान सिहं नेतृत्वको समूहको लागि काम गर्दै आएको पहिलो पोष्टले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *