भ्रातृ संस्थालाई प्यारालाइसिस नबनाउन कांग्रेस नेता शाहीले दिए यस्तो सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका जुम्लाका सचिव लक्ष्मण शाहीले पार्टीका भ्रातृ संघ संस्था प्यारालाइसिसको अवस्थामा पुगेकामा चिन्ता गरेका छन् । उनले यी संघ संस्थालाई चलायमान बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

‘हामी नेविसंघ र नेपाल तरुण दललाई कांग्रेसको नर्सरी भन्छौं, अहिले नर्सरीमा गोडमेल गर्नुपर्ने बेला भएको छ’ उनले भने ‘निर्वाचनको विधिबाट आएका संघसंस्थाले मात्र राम्रो काम गर्न सक्छ सधैं मनोनीत गर्ने र भागबण्डाको पछि कुद्ने परम्परा ठिक भएन ।’

उनले निर्वाचनको विधि नअपनाउँदा नेता तथा कार्यकर्ताहरु पनि संघ संगठनको काम गर्नुको सट्टा नेताको पछि लागेर नेतृत्वमा पुग्ने गलत संस्कार रहेको बताए ।

‘निर्वाचन भनेको लोकतान्त्रिक विधि हो, जो हारे पनि जिते पनि सबैले स्विकारेको विधि हो’ उनले भने ‘अब हामी कहाँकहाँ बिग्रियौं भन्ने बेलैमा हिसावकिताव हुनुपर्छ ।’ उनले विद्यार्थी संघ र तरुण दललगायतका संघ संस्था अस्तव्यस्त हुँदा त्यसले आगामी निर्वाचनमा कांग्रेसलाई नराम्रो असर पर्ने बताए ।

उनले प्यारालाइसिस अवस्थामा रहेका नेविसंघ र तरुण दललाई चलायमान बनाउन नसक्नु पार्टीको ठूलो कमजोरी रहेको स्पष्ट पारे ।

कांग्रेसको केन्द्रीय महाधिवेशनसमेत भइसकेको अवस्थामा अब पार्टीलाई गतिशील बनाउनु सबैको जिम्मेवारी भएको उनको भनाई छ ।

उनले चारतारे झण्डाभित्र रहेर बीपी कोइराला, किसुनजी, गणेशमान सिंह, सुवर्ण शम्सेर, सुशील कोइरालाहरुले देखाएको बाटोबाट पछि फर्किने छुट कसैलाई नभएको बताए ।

नेविसंघका अध्यक्ष राजिव ढुंगाना र तरुण दलका अध्यक्ष जितजंग बस्नेत पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकाले छिटै नै संगठनलाई गतिशील बनाउन पार्टीले विकल्प खोज्नुपर्ने उनको सुझाव छ ।

‘उहाँहरु दुवैजना केन्द्रीय सदस्य बन्नुभयो, बधाई छ अब यी संगठन झन् अस्तव्यस्त होलान् कि भन्ने चिन्ता छ’ उनले भने ‘कुनै विधि अपनाएर छिटोभन्दा छिटो महाधिवेशन गर्न सकेमात्र ती संगठनले गति पाउँछन् ।’

नेविसंघ र तरुण दलमा बसेर काम गरिसकेका उनले पार्टी नेतृत्वले सबैको विचारको सम्मान गरेर जानुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *