फागुन ७ दोहा,कतारमा अलपत्र परेका ८० जना नेपालीलाई नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज कतारले राहत सामग्री वितरण गरेको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेर दुई महिनादेखि अलपत्र नेपालीलाई समाजले एक लाख ५० हजार बरारबको खाद्यान्न सहयोग गरेको समाजका संयोजक बिबी खरालले जानकारी दिएका छन् । कतार ल्याउने कम्पनी सञ्चालक नै कामदारलाई तलब नदिई सम्पर्कविहिन भएपछि नेपाली कामदारहरु अलपत्र परेका थिए । अलपत्र नेपालीहरुले विगत दुई महिनादेखि उनीहरुले कतारमा रहेका आफन्त तथा चिनजानका नेपालीसँग सहयोग मागेर दैनिक एक छाक मात्र खाएर दिन कटाइरहेका कतारबाट संयोजक खरालले जानकारी दिएका छन् ।
अलपत्र नेपालीहरुले पटकपटक नेपाली दूतावासमा सम्पर्क गर्दा पनि दूतावासले गम्भीरतापूर्वक नलिएको खरेलले बताएका छन् । साँघुरो कोठामा १०–१२ जना बस्न बाध्य उनीहरु बसाई तथा खानाको कारण बिस्तारै बिरामी समेत पर्न लागेपछि थप समस्यामा परेका छन् । सनैया ४१ राईट एचबिके कम्पनी पछाडिको क्याम्पमा रहेका पीडित कामदारले आफुलाई अलपत्र पार्ने स्केल लगायतका पाँच कम्पनीलाई कानुनी कारबाही गरी आफनो उद्धार गर्न आव्हान गरेका छन् ।
समाजका संयोजक खरालले पीडितको उद्धार गर्न हरतरहले प्रयास गरिरहेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय नेपाली समाजको तर्फबाट राहत वितरण समितिका संयोजक तथा मुस्लिम विभाग प्रमुख इब्राहिम मिया, सदस्यहरु कलिम मिया, करिम मिया, अकबर मिया, बसन्त मिया, बसिर मिया, अन्तर्राष्ट्रिय नेपाली समाज कतारका माहसचिव महम्मद कार्की, उपसंयोजक दुर्गा सुनार, लाल भट्ट, सन्तोष बस्नेत, संगम भट्टराई, युवा नेता मनोज दाहाल, देव परियार, नविराज खान, तार्केस्वर यादव, अक्कल जिम्मा,नवीन गिरी, बसन्त तामाङ, सञ्चारकर्मी सन्तोष क्षेत्रीलगायतको पहल र सहयोगमा रकम जुटाइएको समाजका संयोजक खरालले जानकारी दिए ।