असोज ९ काठमाडौ – पूर्वविना विभागीय मन्त्री राजलाल यादव सिरहाको भगवानपुर गाउँपालिकाको वडा सदस्यमा निर्वाचित भएका छन् । भगवानपुर गाउँपालिकाको वडा नम्बर ३ को सदस्यमा उनी निर्वाचत भएका हुन् । उनले सदस्य पदमा ८ सय ७८ मत पाएका छन् । उक्त वडामा खसेको २ हजार ७ सय २१ सदर मत मध्ये उनले ८ सय ७८ मत मात्रै पाएका छन् । उनकै पार्टीबाट सदस्यमै उम्मेदवारी दिएका अरुण कुमार यादवले ९ सय ८ मत पाएका छन् ।
राजलाल यादव पूर्वविना विभागिय मन्त्री भएपनि उनको आफ्नै वडामा समेत अत्यधिक मत पाउन सकेनन् । संघीय समाजवादी फोरम नेपालबाटै उक्त वडाका लागि सदस्य पदमै उम्मेदवारी दिएका अरुण कुमार यादवले पूर्व विना विभागिय मन्त्री यादव भन्दा बढी मत ल्याएका छन् ।
७२ वर्षीय यादव पूर्वजिल्ला सभापति हुदै संविधानसभाको पहिलो निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालबाट निर्वाचित भएका थिए । त्यसपछि उनी डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रीमण्डलमा विना विभागिय मन्त्रीसमेत बनेका थिए ।
यादव अहिले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुन् । वडा सदस्यमा निर्वाचित भएर पुनः जिल्ला समन्वय समितिको सभापति बन्ने उनको आकांक्षा रहेको बुझिएको छ । तर, सिरहाको १७ स्थानीय तह मध्ये ४ वटा गाउपालिकामा अध्यक्ष, उपाध्यक्ष र १ वटा नगरपालिकामा मेयरमा मात्र संघीय समाजवादी फोरमले विजयी हात पारेको छ । यसले गर्दा जिल्ला सभापति बन्ने उनको आकांक्षा हुने सम्भावना देखिदैन । -नयाँ पत्रिका दैनिक