काठमाडौ १० असार- निवर्तमान उर्जा मन्त्री हालको गृह मन्त्री प्रभाकरले उर्जा मन्त्रालय छोड्ने बितिकै नेपाल विद्युत प्राधिरणको जग्गामाथि भू-माफियाले आक्रमण सुरु गरेका छन् ।
हालका गृहमन्त्री प्रभाकरले ऊर्जामन्त्रालय समालेदेखि गुपचुपमा बसेका भू-माफियाहरु फेरि सल्बलाएका हुन् । उनीहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई समेत प्रभावमा पर्दै प्राधिकरणको जग्गामाथि आक्रमण गरिरहेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) विद्युत प्राधिकरणका अध्यक्ष खगेन्द्र शाही र महासचिव माधव अधिकारीले विज्ञप्ति जारी गरेर भू-माफियाको मिलेमतोमा प्राधिकरणको किर्तिपुर वितरण केन्द्रको पर्खाल भत्काएका आरोप लगाएको छन् ।
नेपाल विद्युत प्राधिकरण पछाडिको ६ रोपनी जग्गालाई बाटो दिने उद्देश्यले पर्खाल भत्काइएको विज्ञप्तिमा उल्लेख छ । उक्त जग्गा प्लटिङ्गको योजना बनाएका माफियासँग कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन माफियासँग मिलेर पर्खाल भत्काउन लागेको संगठनले बताएको छ ।
हाल उक्त जगामा जाने बाटो नभएकोले प्रति आना ७ लाखमा समेत बिक्रि गर्न गाह्रो भएको तर प्राधिकरणको पर्खाल भत्काई बाटो पुर्याएमा उक्त जग्गा प्रतिआना ७० लाखसम्ममा बिक्री हुने बताईएको छ । जनप्रतिनिधिको अधिकारको दुरुपयोग गरी गरिएको उक्त कार्यको घोर भत्सर्ना गर्दै सो कार्यमा संलग्न दोषिमाथि कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।
प्राधिकरणले २०२९ सालदेखि भोग गर्दै आएको उक्त जग्गामाथि यसअघि पनि केही व्यक्तिहरुले दाबी गरेपछि सर्वोच्चमा मुद्धा परेको थियो । सर्वोच्च अदालतले २०५० सालमा उक्त जग्गा प्राधिकरणकै हक लाग्ने भन्दै फैसला गरेको थियो ।
एमालेबाट निर्वाचित मेयर महर्जनले माफियासँग मोटो रकममा सहमति गरेर प्राधिकरणको पर्खाल भत्काएर बाटो जसरी पनि पुर्याउन लागेको स्रोतले बताएको छ ।