हङकङबाट आयो ‘माइत जाने बाटो’

काठमाडौं, २५ पुस २०७४ – हङकङमा बसोबास गर्दै आएकी चितवनकी कवि सुनिता गिरीको पहिलो कविता संग्रह ‘माइत जाने बाटो’ बजारमा आएको छ । हङकङ साहित्यिक साझा शृंखलाकी सहसंयोजक गिरीको कविताकृति नेपाल क्लब हङकङले प्रकाशन गरेको हो ।

याउ मा तेई कम्युनिटी हलमा हालै आयोजित कार्यक्रममा यो कृतिको विमोचन गरिएको हो । साहित्यकार तथा संस्कृतिविद् अतीत मुखिया, नेपाल क्लब र हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, हङकङ साहित्यिक साझा शृंखलाका संयोजक डीबी पालुङ्वा, समीक्षक समाज हङकङका संयोजक हेमकुमार लावती, एभरेस्ट साप्ताहिकका प्रकाशक एवं सम्पादक किसन राई, विश्व नेपाली साहित्य महासंघ हङकङका अध्यक्ष चन्द्र मादेन ‘आन्छन्’, एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङलगायतले सामूहिक रूपमा कृतिको विमोचन गरेका थिए ।

समुच्च विचारकी प्रवर्तक तथा कवि दीपा एवाई राई र समीक्षक समाज हङकङका संयोजक लावतीले कृतिको समीक्षा गरेका थिए । यो कविता संग्रह अब्बल कृतिका रूपमा पाठकमाझ आएको उनीहरूको टिप्पणी थियो । कवि टोपबहादुर याक्खा, पूर्णिमा शाहलगायतले यो संग्रहभित्रका कविता वाचन गरेर सुनाएका थिए । कवि गिरीलाई विभिन्न संघसंस्थाका तर्फबाट सम्मान गरिएको थियो ।

यो संग्रहमा सपनामा आमा, मृत्युलाई पत्र, रातो रङ, नारी र स्वतन्त्रता, जून, विश्वास, बिर्सिएका यादहरु, ग्रेटवाल, समाधिमा एक थुँगा फूल, बेलुन, फूलको समुद्र, अनिँदो रात, प्रकृति, आमाको साथ छुट्दा, धरहरासँगै ढलेको धरहरा, माइत जाने बाटोलगायत शीर्षकका कविता पढ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *