राप्रपा अध्यक्ष र केन्द्रीय सदस्यका लागि छुटटाछुट्टै समय र प्रकृयाबाट मतदान

फागुन ९ काठमाडौ, ‘हाइटेक प्रविधि’ अपनाएको दावी गरेको राप्रपाले अध्यक्ष र केन्द्रीय सदस्यका लागि छुटटाछुट्टै समय र प्रकृयाबाट मतदान गर्ने व्यवस्था मिलाएको छ ।आज अध्यक्षका लागि हुने मतदान सके लगत्तै केन्द्रीय सदस्यका लागि मतदान सुरु हुने छ । मतदानका लागि ५४ वटा मेसिन प्रयोग गरिने छ ।

मतदानकै क्रममा कुनै मेसिनमा गडबडी आउनसक्ने भएकाले थप ६ वटा मेसिन तयारी अवस्थामा राखिएको बताईएको छ। राप्रपाको महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिएका छन् । पार्टीको विधानअनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पदका) लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । महिलातर्फ ३३ सिट रहेका छन् जसमा खुला १६ तथा आरक्षणमा १७ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुस्लिम एक, कर्णाली र पिछडिएका क्षेत्रबाट दुई र थारु समुदायबाट एकजना निर्वाचित हुनेछन् । पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, खुलामा ४० तथा आरक्षणमा २५ सिट छन् ।

आरक्षणतर्फ मधेसी समुदायबाट सात, आदिवासी जनजाति नौ, उत्पीडित दुई, मुस्लिम दुई, कर्णाली र पिछडिएका क्षेत्रबाट दुई, थारु समुदायबाट एक र प्रवासबाट दुईजना निर्वाचित हुनेछन् । महाधिवेशन सम्पन्न भएपछि ४० प्रतिशत मनोनित गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ । पार्टीका पूर्वअध्यक्षलाई मानार्थ केन्द्रीय सदस्य बनाइनेछ । जस अनुसार पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्द, पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई मानार्थ केन्द्रीय सदस्य बनाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *