ओली प्रधानमन्त्री, म मुख्यमन्त्री : शेरधन राई

काठमाडौं, १० पुस । नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । उनले भने,‘वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ, हामी साना÷मसिना दलहरुलाई समेत समेट्नगरि गृहकार्यमा जुटेका छौं, अबको दुई हप्ताभित्र नयाँ सरकार बन्छ।’

एक कार्यक्रममा बोल्दै भोजपुरबाट प्रदेश सभामा निवाचित सांसद समेत रहेका नेता राईले अबको सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न नै अब सान्दर्भिक नरहेको जिकिर गरे । ‘सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न अब प्रश्न रहेन, दुनियाँलाई थाहा भएको कुरा हो नि, यो त चुनावअघि नै अनुमान गरेको, बुझेको कुरा हो नि, यसमा अब कुनै विवाद, शंका वा द्धिविधा भन्ने कुरा छैन, हाम्रो पार्टीका आदरणीय अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकताको कारणले सरकार गठनमा कुनै ढिलाई नहुने समेत जिकिर गरे । उनले भने,‘तत्काल पार्टी एकता हुँदैन, अहिले हाम्रो ध्यान सरकार गठनमा केन्द्रित छ, सरकार गठनको काम टुँगोमा पुगिसकेपछि हामी एकता प्रक्रियाको लागि जुट्छौं, त्यसैले सरकार गठनपूर्व पार्टी एकता नहुनपनि सक्छ।’

यद्धपी नेता राईले जनताले पार्टी एकताको लागि जनमत दिएको उल्लेख गर्दै पार्टी एकतापनि तत्काल सुरु हुने विश्वास दिलाए । उनले भने,‘को कहाँ बस्ने ? वा नेताहरुको व्यवस्थापन भन्ने कुरा यो नितान्त प्राविधिक विषय हो, यसलाई हामी बडो ईमानदारीपूर्वक र समझदारीपूर्वक टुँग्याउँछौं।’ उनले सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रवीच आलोपालो भन्ने विषयमा अहिले कुनै निश्कर्ष ननिस्किएको समेत स्पष्ट पारे । राईले भने,‘आलोपालोको विषयमा पनि छलफल चलिरहेको छ, अहिले नै यही हुन्छ भन्न सकिने अवस्था छैन।’

हालै सम्पन्न भएको निर्वाचनलाई ऐतिहासिक निर्वाचनको संज्ञा दिँदै उनले भने,‘वामगठबन्धनको पक्षमा जनताले आफ्नो अभिमत जाहेर गरेका छन् । यो परिणामलाई म स्वाभाविक ठान्छु । यसकारण कि हामीले यसपटक नेपाल राष्ट्र र नेपाली जनतालाई स्थिर र बलियो सरकार दिने कुरा गरेका छौँ । देशलाई, नेपाली जनतालाई स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासनको बाटोमा लाने र जनताको विकास, समृद्धि र सम्पन्नता प्राप्त गर्ने चाहनालाई तीव्र गतिमा अगाडि बढाउने कुरा गरेका छौँ।’

राईले अघि थपे,‘यो आजको राष्ट्रिय आवश्यकता हो, आम जनताको साझा चाहना र आकांक्षा हो, त्यसैले वामगठबन्धनको अपिललाई जनताले अनुमोदन गरिदिनुभएको छ । अव देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्छ । जनताको विकास र समृद्धि प्राप्त गर्ने चाहना तीव्र गतिमा अगाडि बढ्छ । अब देश कसैको चाहना वा कामनाले उल्टो दिशामा फर्कन सक्दैन, यथास्थितिमा रहन सक्दैन ।’

२५ वर्षअघिदेखि वामपन्थीहरुको बहुमतको सरकार बनाउने जनताको चाहना यो पटक पूरा भएको समेत उनको भनाई थियो । ‘वामपन्थीहरुको बहुमतको सरकार बनेको हेर्ने जनताको चाहना पूरा भएको छ’ राईले भने,‘लगभग दुई तिहाई नजिक वाम गठबन्धनको पक्षमा मत खसेको छ, यसले मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलिदिएको छ।’

निर्वाचन सम्पन्न भएको यतिका दिन वित्दापनि वर्तमान सरकारले राष्ट्रिय सभासम्बन्धीको अध्यादेशलाई अड्को थापेर विवाद र बहस सिर्जना गरेको उनले आरोप लगाए । उनले भने,‘वर्तमान जनादेशबारे अहिलेको सरकारलाई राम्रो थाहा छ, जनमतको सम्मान गर्दै छिटो भन्दा छिटो मार्गप्रशस्त गर्नुपर्ने हो, तर यो सरकारले जनमतलाई अपमान गर्दैछ, अध्यादेशको नाममा देशलाई केही दिन बन्धली बनाउन सकिन्छ कि भनेर गलत काम गर्दैछ।’

अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत वर्तमान सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले विवादमा ल्याउने काम गरेको उनको आरोप थियो । उनले भने,‘अध्यादेशबारे राष्ट्रपति महोदयलाई दोष लगाउनु वा आरोप लगाउनु नाजायज र गलत छ।’ वर्तमान सरकार सहमति तोडेर अघि बढ्ने प्रयासमा उद्धत रहेको समेत उनले आरोप लगाए ।

उनले भने,‘अवरोधको स्थिति स्वयम् सरकारले सिर्जना गरिरहेको छ, यो गलत हो, संविधान र कानून अनुसार पो देश चल्छ त ? आफूले भनेको मात्रै हुनुपर्छ भनेर पनि हुन्छ त ?, नेपाली कांग्रेसले जहिल्यैपनि सहमति उल्लंघन गर्दै आएको छ, यो कुरा देश र जनतालाई राम्रोसँग थाहा छ।’

राष्ट्रिय सभाको गठनबारे डा«फ्ट गर्दाखेरि नै एकल संक्रमणीय नभएर बहुमतीयको आधारमा भन्ने सहमति भएपनि अहिले सरकारले एकल संक्रमणीय भन्नु गलत र सहमतिको ठाडो उल्लंघन भएको उनको गुनासो छ । ‘हामी सबै दललाई समेटेर अघि बढ्छौं, सहकार्य गर्छौ, तर कांग्रेस खासगरी अहिलेको सरकारले यसरी बखेडा झिक्नु स्वयम उसको लागि पनि हानिकारक छ’–राईले थपे।

तपाईं प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने कुरा पनि छ नि ? भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भने,‘हो, म प्रदेश नं १ को मुख्यमन्त्रीको बलियो दावेदार हुँ । म केन्द्रीय प्रतिनिधिसभा र संविधानसभामा दुईपटक जितेर संसद्मा महत्वपूर्ण भूमिका खेलिसकेको, संसद्को सुशासन तथा अनुगमन समितिजस्तो महत्वपूर्ण समितिको सभापति समेतको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेको, त्यतिमात्र होइन संविधानसभाबाट संविधान जारी भएपश्चात् बनेको लोकप्रिय, सफल र ऐतिहासिक सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री समेतको जिम्मेवारी सफलतापूर्वक सम्हालेर एउटा सफल मन्त्रीका रूपमा उत्रिसकेको, नेकपा एमालेजस्तो लोकप्रिय र शक्तिशाली पार्टीको पोलिटब्युरो सदस्य एवं प्रदेश नं १ को सहसंयोजकको हैसियतमा जिम्मेवारी लिएर काम गरिरहेको व्यक्ति प्रदेशसभा सदस्यमा चुनाव लडेर भारी मतले निर्वाचित भएको छु ।’

उनले आफूलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिनु बिल्कुल स्वाभाविक भएको स्पष्ट पार्दै भने,‘म आफैँमा बलियो इच्छाशक्ति भएको, काम गर्न सकिन्छ र सक्छु भन्ने दृढ भावना र संकल्प बोकेको, कुनै लोभ र स्वार्थ मनमा नभएको एक स्वच्छ एवं निष्कलंकित राजनीतिकर्मी र जनप्रतिनिधि हुँ त्यसैले प्रदेशको भूगोल, त्यसभित्रको सबै विविधता र सन्तुलनको अवस्था र सबै संवेदनशीलताको आधारमा म नै विकल्परहित मुख्यमन्त्रीको उम्मेदवार हुँ ।’

राईले आफू मुख्यमन्त्री भएपछि के–के गर्ने भन्नेबारे अहिले नै गुरुयोजना बनिसकेको समेत जानकारी दिए । उनले आफ्ना प्राथमिकताका एजेन्डाहरु समेत आजको साक्षात्कारमा सार्वजनिक गरेका छन् । उनका अनुसार प्रदेश नं १ म आफैमा एउटा सुन्दर, राम्रो आधार र सम्भावनाको प्रचुरता भएको प्रदेश हो । प्रदेश नं १ विश्वको सर्वोच्च शिखर सगरमाथासहित थुप्रै अग्ला हिमालहरूको प्रदेशमा पर्छ । उनले भने,‘यो क्षेत्र राम्रो संभावना र आधार बोकेको क्षेत्र हो, यहाँको विकासको लागि म कुनै कसर पनि बाँकी राख्दिन्।’
त्य
स्तै उनले यो प्रदेशमा नदीनाला, तालतलैयाहरु प्नि प्रशस्त रहेको उल्लेख गर्दै भने,‘सप्तकोशी नदीको प्रदेश भन्नेबित्तिकै ठूला नदीनालाहरू यहीँ पर्छन् र कुल जलविद्युत् उत्पादन क्षमताको एक तिहाइभन्दा बढी क्षमता हामीसँग छ, हामीसँग जलस्रोतको कुरा गर्नुहुन्छ भने ३४ हजार मेगावाट क्षमता हाईडा«े छ।’
त्यस्तै उनले उत्तर चीन र दक्षिण भारतसँगको सिधा नाका सम्बन्ध प्रदेश नं १ ले राख्ने बताउँदै थपे,‘ हामी सडक सञ्जालको माध्यमबाट एकै दिनमा चीन, भारत, बंगलादेश र भुटान लगायतका देशहरूसँग जोडिन सक्छौँ । पर्यटकीय गन्तव्य स्थलको कुरा गर्ने हो भने हामी विराटनगर एयरपोर्टलाई अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलका रूपमा विकास गरेर लाखौँलाख पर्यटक भित्र्याउन सक्छाँै । कृषि उत्पादनको उर्वर भूमिको रूपमा प्रदेश नं १ लाई लिन सकिन्छ । औद्योगिक विकासमा क्रान्ति ल्याउन सकिन्छ । यसरी मूलत कृषि, पर्यटन, जलस्रोत र उद्योगलाई मुख्य आधार बनाएर प्रदेश नं १ लाई नमुना प्रदेश बनाउन सकिन्छ ।’ त्यस्तै ६÷८ लेनका सडक सञ्जालहरु ब्नाउने, कृषिको उर्वर प्रदेश भएकोले यसलाई आधुनिक रुपमा विकास गर्ने समेत उनको योजना थियो ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले राईलाई बधाई दिएका थिए । उनले मुख्यमन्त्रीको चर्चा रहेकोले मुख्यमन्त्रीको पदभार सम्हालेपछि पूनः बधाई तथा सफलताको शुभकामना दिने समेत विश्वास दिलाए । जवाफमा राईले आफूलाई सम्मान गरेकोमा धन्यवाद दिँदै बधाईसँग आफूमा जिम्मेवारी र चूनौति थपिएको पनि सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *