सिन्धुपाल्चोकमा ३ सांसदहरु बीच घम्साघम्सी

माघ ११ चौतारा,निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम मार्फत प्रत्यक्ष निर्वाचित सांसदहरुलाई विकासका लागि आउने ३ करोड रुपियाँ एकलौटी रुपमा बाँडफाँड गरेपछि यतिबेला सिन्धुपालचोक जिल्लाका तीन सांसदहरुको मारमार सुरु भएको छ । क्षेत्र नम्बर ३ का एमाले सांसद शेरबहादुर तामाङले एकलौटी रुपमा एमाले कार्यकर्ताको सल्लाहमा बजेट बिनियोजन गरेपछि समानुपातिक तर्फका सांसदहरु रमेश लामा र ल्यारक्याल लामा तामाङ विरुद्ध खनिएका छन् । रमेश राप्रपाका सांसद हुने भने ल्हारक्याल माओवादी केन्द्रका ।

समानुपातिकबाट निर्वाचीत सांसदहरुसँग सरसल्लाहमा बजेट विनियोवन गर्नु पर्ने प्रावधान भएपनि एमाले सांसद तामाङले पार्टी नेतृत्वसँग समेत छलफल नगरी ‘कमिशन’ आउने योजनाहरुमा मात्रै बजेट हालेको भन्दै एमालेभित्रैबाट पनि आलोचना भइरहेको छ । दुवै समानुपातिक सांसदसँग छलिएर हिडिरहेका तामाङलाई केही दिनअघि जिविसले सांसदहरुसँग आयोजना गरेको बैठकमा समानुपातिक सांसदले घेरा हालेका थिए । समानुपातिक सांसदद्धय ल्यारक्याल र रमेश लामा एउटै टेबलुमा भएपछि तामाङसँग झण्डै हातहालाहालको अवस्था समेत भएको थियो ।

बैठकमा सहभागी अरु सांसदहरुले ‘यो विषयमा पछि तपाँइहरु मात्रै छलफल गर्नुहोस अहिले जिविसले राखेको एजेण्डामा छलफल सुरु गरौ’ भनेपछि दुवै समानुपातिक सांसदहरु केही बेर मौन बसेका थिए । जिविसका एजेण्डा सकिन साथ अरु सासंदहरुले यसको समन्वय गर्ने काम स्थानीय विकास अधिकारीको भन्दै हिडेका थिए । अरु सासंद हिडेपछि स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही र तिन सांसदबिच झण्डै दुइ घण्टा छलफल भएपनि कुरा टुङ्गोमा पुग्न सकेन ।

प्रत्यक्ष निर्वाचीत सांसद शेरबहादुर तामाङले समानुपातिक सांसद ल्हार्केल लामालाई भने-‘माननीय ज्यु मैले तपाँइलाई धेरै सम्र्पक गर्न खोजे,सम्पर्क नभएपछि यसरी योजना बाँडफाँड गरेको हुँ।’ तामाङको भनाइ सुनेपछि आक्रोशित भएका ल्यारक्यालले भने-तपाँइ मेरो चार-चार वटा नम्बर लैजाने,सम्पर्क नगर्ने अनि सम्पर्क भएन भनेर पन्छिन मिल्छ ?
प्रत्यक्ष निर्वाचीत सांसदहरुलाई निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्याक्रम मार्फत प्राप्त हुने ३ करोड बजेट समानुपातिक सांसदहरुसँग को समन्वयमा उनीहरुले पेश गरेको योजनामा समेत विनियोजन गर्नुपर्ने व्यवस्था छ । समानुपातिक सांसदलाई निर्वाचन क्षेत्र विकास कोष कार्यक्रमका लागि प्राप्त हुने ५० लाख मध्ये जुन निर्वाचन क्षेत्रमा ५१ प्रतिशत बजेट विनियोजन गर्छ त्यो क्षेत्रमा ३ करोड बजेटबाट ३३ प्रतिशत समानुपातिक सांसदको सिफारिसको योजनामा बजेट विनियोजन गर्नुपर्छ ।
राप्रपाबाट समानुपातिक निर्वाचीत रमेश लामाले आफ्नो क्षेत्रमा ५१ प्रतिशत बजेट नहालेर क्षेत्र नम्बर ३ मा मात्रै ५१

प्रतिशत बजेट हालेका थिए । त्यस्तै सोही क्षेत्रका ल्यारक्यालले त ८५ प्रतिशत भन्दा बढी बजेट क्षेत्र नम्बर ३ कै योजनामा हालेका छन् । दुवै समानुपातिक सांसदलाई ३३/३३ प्रतिशत बजेट दिने हो भने प्रत्यक्ष निर्वाचित सांसद शेरबहादुर तामाङले जम्मा ३४ प्रतिशत बजेट मात्रै आफुले भनेका योजनामा हाल्न पाउँने छन् ।

क्षेत्र नम्बर १का प्रत्यक्ष निर्वाचीत सांसद मोहनबहादुर बस्नेतले समानुपातिक सांसद अमृतकुमार बोहरा र रमेश लामाले सिफारिस गरेका योजनाहरुमा समेत बजेट विनियोजन गरेकाले त्यहाँ समस्या छैन । क्षेत्र नम्बर २ का सांसद अग्नि सापकोटलाई अरु समानुपातिक सांसदले बजेटै नहालेपछि उनले एकलौटी रुपमा आफु अनुकुलका योजनामा बजेट विनियोजन गरेको समाचार अनलाईनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *