सिंहदरबारमा रहेको अधिकारलाई जनताको घरदैलोसम्म पुर्‍याउनु संघियताको मूल उद्देश्य: प्रधानमन्त्री प्रचण्ड

फागुन ७ काठमाडौ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षमा पूर्‍याएर राजनैतिक सक्रमण अन्त्य गर्न चुनाव अनिवार्य रहेको बताएका छन्। ६७ औं प्रजातन्त्र दिवसमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले चुनाव गर्न सके एउटा महत्वपूर्ण अध्याय समाप्त हुने बताउँदै यसमा सरकार गम्भीर र सचेत रहेको बताए।

‘सङ्घीयतको कार्यान्वयनका लागि चुनाव आवश्यक तत्व हो तर यो मात्र पर्याप्त हुदैन,’ उनले भने ‘ निर्वाचित जनप्रतिनिधि आएपछिको सरकारको दूरदृष्टि र योजना के भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुन्छ ।’संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन र नेपाललाई समृद्दिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न उनले राजनीतिक दल, कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणलाई आग्रह गरे।

२००७ सालको सङ्घर्षबाट नै मुलुकमा १०४ वर्षसम्म कायम रहेको राणा शासन अन्त भई प्रजातान्त्रिक राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भएको स्मरण गर्दै उनले यही सङ्घर्षबाट नै नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बन्ने बाटो खुलेको बताए।

उनले जनआन्दोलनमा गरेको बलिदानको परिणामस्वरुप संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता सहितको नयाँ संविधान निर्माण भएको बताउँदै प्रगतिशील र गतिशील अन्तर्वस्तु सहितको नयाँ संविधानमा नेपाली जनताले पटकपटक गरेका सङ्घर्ष र बलिदानीको प्रतिबिम्व रहेको उल्लेख गरे।

लामो समयसम्म एकात्मक र केन्द्रीकृत अवस्थाबाट गुज्रेको शासन व्यवस्थालाई सङ्घात्मक ढाँचामा ढाली सिंहदरबारमा रहेको अधिकार, स्रोत र साधनलाई प्रदेश र स्थानीय तहमार्फत् जनताको घरदैलोसम्म पुर्‍याउनु संघियताको मूल उद्देश्य रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *