‘सागर बरु..’ का मोडल बादलको पत्रकारसंग साक्षत्कार, सुनाए कला यात्राको भोगाई

१७ भदौ, काठमाडौं : पछिल्लो समयका उदयमान मोडल बादल श्रेष्ठले इटहरीमा पत्रकारहरुसंग साक्षत्कार गरेका छन् । हालै सार्वजनिक भएको उनी अभिनित ‘सागर बरु सुकेर गैजाला’ गीत तथा भिडियोको बारेमा जानकारी समेत गराउने उद्देश्य सहित साक्षत्कार कार्यक्रम गरिएको हो । शुक्रवार २ बजे इटहरीमा अवस्थित परिकला न्युजको कार्यालयमा गरिएको कार्यक्रमलाई नेपाल चलचित्र पत्रकार संघ, कोशी प्रदेशले आयोजना गरेको थियो ।

कार्यक्रमका क्रममा बोल्दै मोडल श्रेष्ठले ‘सागर बरु सुकेर गैजाला’ गीतमा आफ्नो तर्फबाट सक्दो मेहनत गरेको र त्यसको आउटपुट पनि राम्रो आएको’ बताउदै सबैले भिडियोलाई युट्युबमा हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । मोरङको बेलबारी निवासी उनी काठमाडौ भन्दा बाहिर आफ्नै ठाउँमा बसेर पनि उत्कृष्ट काम गर्दै लोकप्रिय बन्न सकिन्छ भन्ने सोचका साथ आफ्नो मोडलिङ यात्रालाई अगाडि बढाइरहेका छन् । कार्यक्रममा मोडल श्रेष्ठले कलाकारिता यात्राका भोगाई र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

श्रेष्ठले अहिलेसम्म २५ बढी म्युजिक भिडियोमा काम गरिसकेका छन भने केही चलचित्रमा अभिनय समेत गरिसकेका छन् तर, हालै सार्वजनिक ‘सागर बरु सुकेर गैजाला’ गीतबाट भने आफ्नो हाइप बढ्नेमा आशावादी देखिएका छन् । उनीसँगै कार्यक्रममा सहभागी मोडल बिनोद बस्नेतले समेत उनको अभिनयको तारिफ गरेका छन् । चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष नरेन्द्र बस्नेतको सभापतित्वमा भएको कार्यक्रम चलचित्र पत्रकार संघ सुनसरीको उपाध्यक्ष मनोज दाहालले सञ्चालन गरेका थिए भने संघका कोशी प्रदेश सदस्य सुवास संकल्पले स्वागत मन्तव्य राखेका थिए ।

उनी अभिनित सागर बरु सुकेर गैजाला गीत एक समयको चर्चित गीत हो । हालै सो गीतलाई नयाँ भर्सनमा निकालिएको हो । आजभन्दा २३ वर्षअघि रेकर्ड उक्त गीतको मेल भर्सनमा दिपक लिम्बुको स्वर रहेको थियो भने अहिलेको नयाँ भर्सनमा पनि दिपककै स्वर समावेश गरिएको छ । सो गीतमा सिन्धु रानाको शब्द समावेश गरिएको छ भने रेशमलाल चौधरीले गीतलाई कम्पोज गरेका छन् । मोडल बादललाई भिडियोमा लोकप्रिय मोडल गरिमा शर्माले साथ दिएकी छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई हरि हुमागाईले छायांकन गरेका हुन भने विकाश धमलाले भिडियो सम्पादन गरेका छन् । भिडियोलाई गायक दिपक लिम्बुकै नाममा रहेको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *