सरकारलाई सभामुख घिमिरेको आग्रह इजरायलबाट पीडित नेपालीलाई स्वदेश फर्काउने

२४ असाेज, काठमाडौं : सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आतंककारी हमलामा मारिएका नेपालीको शव तत्काल स्वदेश ल्याउन आवश्यक व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । उनले आज एक शोक सन्देश जारी गर्दै इजरायलमा रहेका इच्छुक नेपालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेका छन् । उनले दक्षिणी इजरायलमा भएको घातक आतंकवादी हमलामा १० नेपालीको ज्यान गएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ, ‘सम्भावित आक्रमणको जोखिममा परेका सबै नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, सरोकारवालालाई स्वदेश फर्काउने व्यवस्था गर्न र घटनामा मारिएकाहरुको शव स्वदेशमा ल्याउन म सरकारलाई आग्रह गर्दछु’, सन्देशमा भनिएको छ । स्थानीय अस्पतालमा उपचार गराइरहेका घाइते नेपालीहरुको स्वास्थ्यलाभको कामना गर्दै उनले इजरायलमा बेपत्ता नेपालीहरुको खोजीका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *