समाजमा विभेदका अवशेष अझै छन् : सांसद हजारा

२४ भदौ, काठमाडौँ : समाजमा दलित समुदायमाथि हुने विभेद अन्त्य गर्न सांसद प्रभु हजारा साढे तीन दशकअघि कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर अहिले उनी नेकपा (एमाले) बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै छन् । सांसद हजाराले विगतमा दलित समुदायप्रति समाजमा धेरै विभेद हुने गरेको भए पनि अहिले धेरै परिवर्तन भएको बताउनुहुन्छ । आरएसएससँगको संवादमा सांसद हजाराले भने, “समाज धेरै परिवर्तन भएको छ। विगतको तुलनामा छुवाछुत र भेदभाव कम भए पनि अवशेषहरू बाँकी छन्। छिट्टै अन्त्य हुनेमा ढुक्क छु।” पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद हजाराले संविधानको मर्म र भावनाअनुसार नयाँ कानुन बनाएर राज्यका सबै संरचनामा समानुपातिक समावेशी सिद्धान्तलाई पूर्णरुपमा पालना गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले २०८४ सालमा हुने आगामी निर्वाचनमा महिला र दलितका लागि छुट्टाछुट्टै आरक्षणको व्यवस्था गर्न पनि सुझाव दिए । संघीय संसद देश चलाउनका लागि कानुन बनाउने मुख्य मञ्च भए पनि सरकारले व्यवसायीलाई कानून बनाउने जिम्मेवारी नदिएको उनले बताए । ‘सरकार मिलेर अघि बढ्ने हो भने सदन अवरुद्ध हुँदैन, प्रमुख प्रतिपक्षी दलका माग र मुद्दालाई समयमै सम्बोधन गरी समस्या समाधान गर्नुपर्छ’, उनले भने ।

ललिता निवास, भुटानी शरणार्थी, सुन तस्करी जस्ता भ्रष्टाचारका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ । उनले भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धनका लागि आवश्यक विधेयक ल्याएर कानून निर्माण प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिए । मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचो रहेको औँल्याउँदै सांसद हजाराले निर्वाचनमा हुने खर्च कम गर्न अनुगमन संयन्त्र र प्रभावकारी कानूनको आवश्यकता रहेको बताए ।

सांसद हजाराले जनताको प्रतिनिधिका रुपमा सदनमा अहिलेसम्म निर्वाह गरेको भूमिकामा केही सन्तुष्टि जनाउँदै खानेपानी, सिँचाइ, मललगायतका जनहितका माग र उठाएका समस्याप्रति कमजोर प्रतिक्रिया नआएकोमा दुःख व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *