सभामुख घिमिरेसँग रुसी राजदूत भेट

१८ भदौ, काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल–रुस सम्बन्ध र दुई देशको संसदीय अभ्यासका विषयमा विचारविमर्श भएको थियो । रुस महासंघ नेपालको पुरानो मित्र रहेको बताउँदै सभामुखले दुई देशबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।

उनले सन् २०१५ को भूकम्प र कोभिड–१९ महामारीका बेला प्रदान गरेको सहयोगलगायत नेपालको विकासमा रसियाले गरेको महत्वपूर्ण योगदानप्रति कृतज्ञता व्यक्त गरे । रुसी राजदूतले दुई देशबीचको संसदीय आदानप्रदानको महत्त्वलाई पनि प्रकाश पारे। रुसी राजदूतले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अप्रिलमा गरेको रुस भ्रमण यस सन्दर्भमा महत्वपूर्ण रहेको बताए ।

उनका अनुसार राष्ट्रियसभा अध्यक्षको भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौता कार्यान्वयनका क्रममा रुसको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *