वाम गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री भागबण्डा यस्तो छ

काठमाडौ १३ माघ – एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन् ।

ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन् । बैठकमा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता रामबहादुर थापा ‘बादल’ ले बाँडफाँडका विधि र प्रक्रियाका सन्दर्भमा अहिलेसम्म कार्यदलमा भएका गृहकार्यको ‘ब्रिफिङ’ गरेका थिए।

‘हामीले अहिलेसम्म कार्यदलमा भएको छलफल र गृहकार्य दुवै नेतालाई ब्रिफिङ गर्‍यौं,’ बैठकपछि एमाले नेता नेम्वाङले भने– ‘उहाँहरूले अहिले भइरहेको छलफलकै आधारमा टुंग्याउने गरी प्रस्ताव तयार पार्नुस् भन्नुभएकाले त्यसअनुसार गृहकार्य गर्छौं।’

एमालेले चार र माओवादी केन्द्रले दुईवटा प्रदेश सरकारको नेतृत्व लिने भनिए पनि प्रदेश ६ मा दुवै दलले मुख्यमन्त्री दाबी गरेका छन् । राष्ट्रियसभामा मतादाता संख्यालाई आधार मानेर बाँडफाँड गरिए पनि राजकीय मामिलाको पद बाँडफाँड ६०-४० कै अनुपात हुनुपर्ने दाबी गर्दै माओवादी केन्द्रले प्रदेश ६ मा स्वाभाविक नेतृत्व पाउनुपर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएको छ ।

तर, एमालेले भने त्यस क्षेत्रका पार्टी नेता र सांसदहरूको दबाबले विशिष्ट स्थिति उत्पन्न भएको भन्दै लचिलो बन्न माओवादीलाई आग्रह गर्दै आएको छ । प्रदेश १, ३, ४ र ५ एमालेलाई छाड्न तयार देखिएको माओवादीले ती प्रदेशमा सभामुखको दाबी गर्दै आएको छ । शुक्रबार यिनै विषय केन्द्रित छलफल भए पनि शीर्ष कार्यदलले नेताहरूको निर्देशन सार्वजनिक गरेको छैन ।

दुवै पार्टी अध्यक्षको निर्देशन अनुसार कार्यदलले शनिबार थप गृहकार्य गरेर प्रदेशसभा र प्रदेश सरकारको सिट बाँडफाँड टुंगो लगाउने भएको छ । शीर्ष नेताहरूसँगको परामर्शका आधारमा सिट बाँडफाँड टुंगो लगाइने एमाले नेता नेम्वाङले बताए ।

बिहीबारको बैठकमा प्रदेश मन्त्रिपरिषद्को आकारबारे समझदारी भएपछि कार्यदलले शीर्ष नेताहरूसँग शुक्रबार परामर्श गरेर सिट बाँडफाँड प्रस्ताव टुंगो लगाउने सहमति गरेको थियो । ओलीनिवासमा सिट भागबन्डामा केन्द्रित रहेर चार घन्टा छलफल भएको खबर शुरोजंग पाण्डेको बाइलाइनमा शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *