राष्ट्रिय सभा निर्वाचन उत्साहपूर्ण वातावरणमा हुदै

काठमाडौं, २४ माघ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत देशका ७ मध्ये ६ वटा प्रदेशमा अहिले मतदान भइरहेको छ ।प्रदेश २ मा भने सबै सदस्य निर्विरोध निर्वाचित भइसकेकोले ६ वटा प्रदेशमा मात्र राष्ट्रिय सभाको निर्वाचन भईरहेको छ । अहिले १० बजेबाट उत्साहपूर्ण वातावरणमा मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८-८ जना निर्वाचित हुनेछन् । बाँकी ३ जना मन्त्रिपरिषद्ले नियुक्त गर्नेछन् ।

५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ३२ सदस्यका लागि ५२ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर १ को विराटनगरस्थित वीरेन्द्र सभागृह, प्रदेश नम्बर ३ को ललितपुर स्थित फुटबल मैदान, प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको पश्चिाञ्चल क्षेत्रीय निर्देशनालय भवन, प्रदेश ५ को दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र रहेको भवन, प्रदेश नम्बर ६ को सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालय भवन परिसर र प्रदेश ७ को डोटीको दिपायल सिलगढीस्थित पदम पब्लिक मुक्तिनारायण मा.वि.मा मतदान भइरहेको छ ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् । महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय र दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकका लागि बहुमतीय प्रणालीबाट मतदान भइरहेको छ ।

निर्वाचनमा स्थानीय तहका १,२३४ र प्रदेश सभाका ४४३ गरी कुल १,६७७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *