राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । यसअघि हिजो स्थगित भएको बैठक आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजेर १ मिनेटका लागि बैठक बोलाइएको हो ।

सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदै छ ।

त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *