युरोप क्षेत्रको उप–संयोजक पदमा सागर लामाको उम्मेदवारी, अत्यधिक मतकासाथ विजय गराउन अपिल (अपिलसहित)

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १० औ महाधिवेशनमा आफ्ना एजेन्डा र त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सागर लामाले युरोप क्षेत्रको उप–संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको जनाएका छन् । लामाले एक अलि जारी गर्दै आफुलाई अत्यधिक मतकासाथ विजय गराउन अपिल गरेका छन् ।

अपिल
सर्वप्रथम हामी गैर आवासीय नेपालीहरूको एक मात्रै साझा तथा गौरवशाली सङ्गठन गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १० औ महाधिवेशनमा मैले पनि आफ्ना एजेन्डा र त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता सहित युरोप क्षेत्रको उप–संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।

विगतमा विभिन्न सामाजिक संस्थामा आबद्ध भएर गैर आवासीय नेपाली तथा नेपालको सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण र सक्रिय योगदान गर्दै आएकोले नेतृत्वको लागि सक्षम रहेको स्व-घोषणा गर्दछु । संस्थामा पद प्राप्त भएपछि पद ओगट्ने र पदीय जिम्मेवारी अनुसारको काम नगर्ने परिपाटीलाई चिर्दै, पदसँगै आउने जिम्मेवारीलाई आफ्नो व्यक्तिगत स्वार्थ र हितभन्दा माथि राखेर निष्ठावान् ढङ्गबाट कार्यसम्पादन गर्नु पर्छ भनेर निरन्तर पैरवी गर्दै आएको व्यक्ति हुँ भन्ने कुरा यहाँहरूलाई अवगत नै छ ।

मलाई थाहा छ अब आउने नयाँ टिमलाई अत्यधिक चुनौतीहरू हुनेछन् । यी चुनौतीहरूलाई अवसरमा बदलेर संस्थाको गरिमालाई एउटा उचाइमा पुर्याुउने अठोटका साथ सङ्कल्प गर्दछु । विभिन्न अवसरका लागि विदेशी पासपोर्ट लिन बाध्य हुनुभएका, यद्यपि मन र धन दुवै नेपाली समाज र संस्कृतिप्रति लालायित हुने तमाम आदरणीय मित्रहरूलाई एक पटकको नेपाली सधैँको नेपाली बनाउने गौरवशाली अभियानलाई मेरो पूर्ण तन मन वचनले शिरोधार्य गर्दै उक्त मार्गमा निर्भीकतासाथ हिँड्ने कुरा विश्वस्त गराउन चाहन्छु । यसका लागि मतदान सहितको गैर आवासीय नागरिकता दिलाउने विषयलाई स्पष्ट योजनाका साथ टिममा काम गर्ने छु ।

हामी आज जहाँ पुगेका छौँ, त्यहाँ अनेकौँ कठिनाइ भोगिरहेका छौँ । यस्ता साझा समस्याहरू समाधान गर्न विषयसँग सम्बन्धित टास्क फोर्स (कार्यसमितिहरू) बनाई उक्त टास्क फोर्समा युरोप क्षेत्रको जुनसुकै देशमा रहेका विषयगत विज्ञहरूलाई परिचालन गरी समाधानको विकल्प निकाल्ने छु । विदेशमा बसोबास गरिरहेका युवा पुस्तालाई गैर आवासीय सङ्गठनको अभियानमा संलग्न गराई नेपाल र नेपालीहरूसगँको सुदृढ सम्बन्ध विकासमा विशेष योजनाका साथ काम गर्ने छु । यसरी भोलिका दिनमा महिला, युवा लगायत सबै वर्ग तथा क्षेत्रलाई समेट्दै संस्थालाई इतिहासकै सुदृढ, सबल र सक्षम संस्था बनाउने प्रण गर्दछु ।

चुनावका बेला राजनीतिक पार्टीसँग सम्बन्धित तथा व्यापारीहरूले एन.आर.एन. लाई प्रभावित पारी आफ्नो स्वार्थ अनुकूल बनाउने परिपाटी विरुद्ध सङ्घर्ष गर्न जरुरत छ । कुनै एउटा एन.आर.एन.को नेताले दुईचार करोड आर्थिक सहयोग गर्दा सो व्यक्तिको उचाइ त बढ्ला तर त्यसले सङ्गठनको गरिमा बढाउन मद्दत गर्ला त ? प्रश्न अब पैसामा भन्दा पनि उद्देश्य प्राप्तितर्फ उन्मुख छ या छैन भन्ने तर्फ सोझ्याउनु पर्छ । पछिल्लो दिनमा एन.आर.एन. को निर्वाचनमा देखिने कुर्सी हानाहानसम्मको लाजमर्दो दृश्यले युरोपको सिस्टममा रहेर पनि स्वदेशमा नेताहरूले प्राय देखाइरहने प्रवृत्ति हाबी भएको भनेर चर्को आलोचना हुने गरेको छ l चुनावलाई मर्यादित र लोकतान्त्रिक बनाउन समेत अहम् भूमिका खेल्ने कुराको यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु l

त्यस कारण आगामी २ वर्षमा सङ्घको गरिमा बढाउने सामूहिक अभियानमा लाग्न सबैलाई अपिल गर्दछु । व्यक्ति विशेषका योगदानमा आधारित चर्चा परिचर्चा भन्दा पनि सामूहिक नेतृत्व महत्त्वपूर्ण हो र यसको प्रतिफलको हिस्सेदार पनि सिङ्गो सङ्गठन बनाउन पर्दछ भन्ने मान्यतालाई स्थापित गराउन पनि अपिल गर्दछु । यस्ता व्यक्ति प्रधान सोच राखिने प्रचलनको अन्त्य गर्दै सामूहिक भावनाको विकास गर्ने काममा दिलो ज्यान दिएर लाग्नेछु । तसर्थ, १०औ अन्तर्राष्ट्रिय महाधिवेशनमा सफलतापूर्वक सम्पन्न बनाउन युरोप क्षेत्रको उप–संयोजक पदमा मैले प्रस्ताव राखेको छु । मेरो उम्मेदवारीलाई सर्वसम्मत बनाउँदै उल्लेख्य मतका साथ निर्वाचित गराउनुहुन प्रिय युरोपवासीहरूलाई हार्दिक अनुरोध गर्दछु ।

मैले भूकम्प, हावाहुरी, बाढी पहिरो, कोभिड–१९ लगायतका दैवी प्रकोपबाट आक्रान्त भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई स्वयम उपस्थित भई गैर आवासीय नेपाली सङ्घको तर्फबाट नेतृत्व गर्दै सकेको मानवीय सेवा र सहयोग गर्दै आएको यहाँहरू अवगत नै हुनुहुन्छ । मलाई निर्वाचित गराउनुभएपछि भोलिका दिनमा पनि नेपालीको दुःखमा हातेमालो गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।

नेपाली कला र संस्कृतिलाई संरक्षण, तथा प्रवर्द्धन गर्ने काम गर्ने छु । दोस्रो पुस्ताका गैर आवासीय नेपालीहरूमा नेपाली भाषा, कला संस्कृतिको हस्तान्तरणमा योजनाबद्ध अभियान सञ्चालन गर्ने छु ।

वैदेशिक रोजगार, शिक्षा, तथा अन्य विभिन्न उद्देश्य लिएर विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताको सूत्रमा बाँधेर एन.आर.एन.को मुख्य उद्देश्य ”एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने मुख्य अभिप्रायलाई उचित कार्यक्रमको तर्जुमा र कार्यान्वयन गरी सफल बनाउन मेरो जित अत्यन्तै महत्त्वपूर्ण छ l

गैर आवासीय नेपालीको मूल मर्म र भावना अनुरूपको योजनालाई अगाडी बढाउने छु । नवीन सोचका साथ सबै नेपालीलाई एकताबद्ध गर्ने अभियानलाई सार्थकता दिने जमर्को गर्ने प्रण गर्दै मलाई यहाँको अमूल्य मतदान म ‘सागर लामा’ लाई दिनुहुन हार्दिक अपिल गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *