महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका

२१ साउन , काठमाडौं : २८ अगष्ट देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा ल्याएको कुरा नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

देविकाले भारतबाट एक महिला टेस्ट र १५ महिला ओडिआई खेल खेलेकी छन् । उनी गत वर्ष भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल) मा मुम्बई इन्डियन्सको महिला टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा समेत काम गरेकी थिइन् ।

अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म नेपालले छनोट खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।

प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *