मधेशमा एमालेले भोट माग्ने नैतिकता गुमाएको छ :- उपेन्द्र यादव

 

जनकपुर, २६ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश र मधेशी जनताहरुको लागिकांग्रेस, एमाले र माओवादी केन्द्र सबै दल उस्तै भएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपाल धनुषा शाखाले जनकपुरमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले भने,“एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गरेर गल्तीगरेको छ, हुन त एमालेमात्रै होईन, मधेशकालागि ठूला दलहरुले अहिले सम्म सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन्।”

यादवले अघि थपे,“एमाले, कांग्रेस, माओवादी केन्द्र यी तीनै दल मधेशी जनताहरुको लागि उस्तै हुन्, यी पार्टी मधेश विरोधी हुन । सबै पार्टी उस्तै हुन् । मधेश माथि दमन गरेका छन्, यीनीहरु सरकारमा हुँदा मधेशी जनतााको छातीमाथि गोलीचलाएकै हुन् ।” तर अध्यक्ष यादवले प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले मधेशमा भोट माँग्ने नैतिकता गुमाएको आरोप लगाएका छन् । यादवले भने,“संविधान संशोधन प्रस्तावको विपक्षमा भोट हालेर एमालेले गम्भिर भुल गरेको छ, त्यसैले उसले मधेशमा भोट माँग्ने नैतिकता नै गुमाएको छ।”

क्लबका केन्द्रिय सभापति ऋषिधमलाको प्रमुख आतिथ्यतामा सम्पन्न साक्षात्कारमा बोल्दै उनले चुनाव भनेको लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । उनले भने,“मानवशरिरमा रगतको महत्वजति हुन्छ, लोकतन्त्रमा चुनावको जरुरी वा महत्व त्यति नै हुन्छ । निर्वाचनलाई पर्व वा उत्सवको रुपमा लिनुपर्छ।”
यादवले मधेशमा निर्वाच प्रति व्यापक ठूलो जनलहर छाएको बताए । त्यस्तै उनले आफ्नो पार्टीले अहिले संविधान संशोधनमा जोड नदिई निर्वाचनमा जोड दिएको समेत स्पष्ट पारे । यादवले थपे,“चुनावपछि संविधान सच्याईन्छ।”

सरकारको रवैया ठीक नभएको उनको आरोप थियो । “सरकारले दिने सेवामा अत्यन्तै कमजोरी भएको छ, भ्रष्टाचार बढेको छ”, यादवले भने,“मुलुकमा अहिले लोकतन्त्र होईन, लुटतन्त्र मौलाएको छ।”

अध्यक्ष यादवले हिजोसम्म लोकतन्त्र हावामा भएको बताउँदै भने,“तर अहिले स्थानीयतहको निर्वाचनपछि लोकतन्त्र जनतामा पुगेको छ ।”
राजपा नेपाल प्रति लक्षित गर्दै उनले भने,“केहीपक्षले गैर राजनीतिक गति विधि खास गरेर हिजो हामी निर्वाचनमा जाँदा आक्रमण गरेपणि अहिले आएर उनीहरु पनि चुनावमा आएका छन्।” उनले आफूहरुले लोकतान्त्रिक अभ्यास गर्दा कोही पनि आँत्तिनु नपर्ने जिकिर गरे । यादवले जनताको लहर आफ्नो पार्टीभित्र छाएको समेत विश्वास दिलाए । २ नम्बर प्रदशेमा आफ्नो पार्टीले धेरै सिट जित्ने पनि उनले दाबी गरे ।

त्यस्तै यादवले निर्वाचन आयोगले निर्वाचन आचार संहिता र अनुगमन लगायत अन्य महत्वपूर्ण विषयमा कडाई गर्न नसकेकेको समेत गुनासो पोखे । उनले थपे,“ सरकारमा बसेका दलहरुबाट व्यापक शक्तिको दुरुपयोग भएको छ, यसको अनुगमन गर्नुपर्दैन् ? निर्वाचन आयोग के हेरेर बसेको छ ?”
फरक प्रसँगमा उनले पत्रकार ऋषिधमलालाई अब सक्रिय राजनीतिमाआउनको लागि आग्रह गरे । उनले थपे,“ऋषिजी अब राजनीतिमा आउनुपर्छ, मधेशमा उहाँको यस्तो क्रेज छ, यस्तो जनलहर भएको मान्छे किन राजनीतिमा नआउनु भएको हो? मलाई त आश्चर्य लागेको छ।”

पत्रकार ऋषिधमलाले २ नम्बर प्रदेशको निर्वाचनमा जनताहरुको व्यापक सहभागिता हुने विश्वास दिलाउँदै निर्वाचनलाई पर्वको रुपमा लिनुपर्ने बताए । उनले आफू निर्वाचन अभियान लिएर मधेश झरेको बताउँदै सबै दलहरुले निर्वाचन आचार संहिता पालना गर्नुपर्नेमा जोड दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *