भृकुटीमण्डपमा कांग्रेस उपमहासचिव यादवमाथि आक्रमण

२१ भदौ, काठमाडौँ : नेपाली कांग्रेसका उपमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा आक्रमण भएको छ ।

बुधबार दिउँसो नुवाकोटको विदुर नगरपालिकाका श्याम सापकोटाले यादवमाथि कुटपिट गरेको बताइएको छ । रिपोर्टर्स क्लबबाट निस्किएपछि कारभित्र छिर्ने क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो । आक्रमणबाट यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । आक्रमणकारी सापकोटा क्लबभित्र यादवको भाषण सुनिरहेको रिपोर्टर्स क्लबका प्रतिनिधि ईश्वर कार्कीले जानकारी दिए । क्लब छाडेपछि यादवलाई पछ्याउँदै अचानक आक्रमण गरे ।

सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमुद ढुङ्गेलले रातोपाटीलाई जानकारी दिए । आक्रमणपछि सापकोटाले राजतन्त्रको पक्षमा नारा लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनले भ्रष्टाचार र सुशासन विरुद्ध नारा समेत लगाएका थिए । घटनाबारे जानकारी दिँदै प्रहरीले सापकोटाले आफूलाई राजतन्त्रवादी भएको पनि बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *