मोरङ १३ चैत्र, सरकारले भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका मोरङका बासुदेव साहको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । २०६७ सालको जेठ ११ गते मोरङको खयरवनामा भारतीय सुरक्षाकर्मी एसएसवीले हानेको गोलीले साहको ज्यान गएको थियो ।
केहि दिन अगाडि भारतीय सिमा सुरक्षा बल एसएसबीको गोलि लागि मृत्यु भएको गोबिन्द गौतमको परिवारलाई तुरुन्तै शहिद घोषणा गरि क्षतिपूर्ति उपलब्ध गराएको सरकारले बासुदेब साहका परिवारलाई भने, घटना भएको ६ बर्षपछि मात्रै क्षतिपूर्ति दिन लागिएको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले साहको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति सोमबार उपलब्ध गराउने जनाईएको छ । २०६७ सालको जेठ ११ गते मोरङको खयरवनामा भारतीय सुरक्षाकर्मी एसएसवीले तस्करलाई पक्रन भन्दै नेपाली भूमिमा छिरेर भारतीय सुरक्षाकर्मीले गोली चलाएका थिए ।
१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भए पनि साहलाई शहीद घोषणा गर्नेबारे सरकारले निर्णय गरेको छैन ।