बुढेसकालको प्रेमले जङ्गलमा बास

पौष ८ गुल्मी, प्रेममा न उमेरको सीमा हुन्छ, न त जन्मको बन्धन । त्यसैले त भनिन्छ, प्रेममा सबै थोक जायज हुन्छ । तर, गुल्मीका एक वृद्ध जोडीको प्रेमलाई भने जात र उमेरको बार लगाएर समाजले नै नाजायज करार गर्दा उनीहरुको जंगलको बास भयो ।
अन्तरजातीय र उमेरको हिसाबले अनमेल प्रेम सम्बन्ध राखेको आरोपमा अर्बेनी-५ का ८१ वर्षीय बृद्ध लालबहादुर सुनार र ४२ वर्षीया सावित्रा न्यौपानेलाई स्थानीय मिलेर गाउँ निकाला मात्रै गरेनन्, पीडितको घरसमेत भत्काइदिए ।
जंगलमा बस्न विवश सुनार र न्यौपानेको पक्षमा विस्तारै जिल्लाका अधिकारकर्मीले अभियान चलाएपछि घटना बाहिर आउन लागेको हो ।
बृद्ध जोडीमाथि दुव्र्यवहार गरी गाउँ निकाला गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितका छोरा अनुराम सुनारले गाउँ निकाला गर्ने र घर भत्काउन लगाउने सोही स्थानका करिव ४३ वर्षीय चिन्तामणि न्यौपाने र अर्बेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने विरुद्ध उजुरी दर्ता गरेका हुन् ।
सञ्चारमाध्यममा घटनाका बारेमा समाचार प्रकाशन तथा प्रसारण भएपछि जिल्लाका अधिकारकर्मीहरुको पहलमा पीडितले उजुरी दर्ता गरे ।

एमाले निकट उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य कृष्ण सुनार, इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्याल, पत्रकार प्रेम सुनार लगायतको टोलीले डीएसपी महेन्द्र नेपाललाई भेटेर दोषीमाथि कारवाहीको माग गरेका छन् ।

डीएसपी नेपालले सार्वजनिक अपराधको मुद्दा दर्ता गरिने र तत्काल आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउन पूर्तिघाट प्रहरी चौकीलाई निर्देशन दिएको बताए । दलित अधिकारकर्मी कृष्ण सुनारले अहिले तत्काल सार्वजनिक अपराधअन्तरगत मुद्दा दर्ता गरिए पनि केही दिनमा जिल्ला अदालतमा जातीय विभेद विरुद्धको मुद्दा पनि दर्ता गरिने बताए ।

बुढेसकालको प्रेम प्रकरण ?

श्रीमानको घरेलु हिंसा सहन नसकेर पीडित बनेकी ४३ वर्षीया सावित्रा न्यौपानेलाई ८१ वर्षीय सुनारले अभिभावकत्व प्रदान गरेका थिए । त्यसैलाई आधार बनाएर उनीहरुबीच अवैध सम्बन्ध रहेको भन्दै गाविस कार्यालयमै छलफल गराएर कागज गराई गाउँ निकाला गरिएको पाइएको छ । यस क्रममा सुनारको घर समेत भत्काइएको छ ।

घर भत्काएर लखेटिएपछि उनीहरु दुई रात जंगलको ओडारमा सुतेका थिए । उनीहरुलाई अधिकारकर्मीले खोजेर ओडारबाट उद्दार गरेका हुन् ।

सुनारका छोरा अनुरामले बुबाको खोजी गरिदिन निवेदन दिएपछि उनीहरुको खोजी भएको हो ।

गत पुस १ गते लालबहादुरको घरमा सावित्रालाई फेला पारेपछि सावित्राका भतिजा चिन्तामणि न्यौपानेको नेतृत्वमा भेला भएका स्थानीय राजनीतिक दलका प्रतिनिधि समेतका सहभागितामा यो जोडीलाई गाउँ निकाला गरिएको बताइएको छ ।

गाविसमा सर्वदलीय कागज

कागजमा अबदेखि सुनार र सावित्राका पति-पत्नीका रुपमा रहने र चन्द्रकान्त न्यौपानेको सम्पत्तिमा सावित्राले अंश दाबी नगर्ने तथा काज किरियासमेत गर्न नपर्ने उल्लेख छ ।

उक्त कागजमा गाविस सहायक झविलाल न्यौपाने, कांग्रेस गाउँ सभापति रामप्रसाद न्यौपाने, एमाले अध्यक्ष देवी न्यौपाने, माओवादी केन्द्रका पुनाभद्र न्यौपाने र महिला प्रतिनिधि हरिकला न्यौपानेलेसहित स्थानीय २८ जनाले हस्ताक्षर गरेका छन् ।

एमालेका गाउँ अध्यक्ष न्यौपानेले उनीहरु दुबैजना राजीखुसी श्रीमान-श्रीमती बन्न तयार रहेको भनेपछि आफूले हस्ताक्षर गरिदिएको बताएका छन् ।

गाउँबाट निकाल्ने कुरा कसैले नगरेको र आफूले त्यसमा सहभागिता नजनाएको भन्दै न्यौपानेले सुनार आफैंले आफ्नो घर भत्काएको जानकारी पाएको बताए ।

सुनारको घर जीर्ण भएको र उनी आफैंले अब यो ठाउँमा नबस्ने भन्दै घर भत्काएको गाउँलेको दाबी छ । तर, चन्द्रकान्तका आफन्तले घर भत्काइदिएएको दाबी अधिकारकर्मीको छ ।

दुबैजनाले आफूहरु अब सँगै बस्न तयार रहेको बताएका छन् । लालबहादुरकी पत्नीको मृत्यु २२ वर्षअघि भइसकेको छ ।

-अनिल खत्रीबाट (अनलाइन खबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *