बुढीगण्डकीमा व्यापक अनियमितता भएको छ, राष्ट्रिय स्वाभिमान बेचिएको छ, यसलाई अगाडि बढाउन सकिँदैन् : सभापति डोर प्रसाद उपाध्याय

काठमाडौं, ६ असोज- सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले बुढीगण्डकी जलबिद्युत आयोजनामा व्यापक आर्थिक अनियमितता भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति उपाध्यायले उक्त परियोजनाबारे तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले हतार–हतार गरेर सम्झौता गरेको गुनासो पोखे । उनले भने,‘बुढीगण्डकी जलविद्युत आयोजना बेचिएको छ, त्यहाँ आयोजना मात्रै होइन हाम्रो स्वाभिमान पनि बेचिएको हो, स्वाभिमान बेच्ने अधिकार कसैलाई छैन, मेरो कद होचो छ की अग्लो भनेर नहेर्नाेस, म स्वाभिमानसँग सम्झौता गर्दिन, यो परियोजना कुनैपनि हालतमा अघि बढ्न सक्दैन्, गेजुवाको नेपालमा अहिलेसम्म राम्रो पर्फेमेन्स छैन, त्यसैले यो परियोजनाबारे पूर्नविचार गर्नुपर्छ र नयाँ प्रक्रियामा जानुपर्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हतार–हतारमा सम्झौता गर्नुको कारण के थियो ? यसरी मन्त्री पद नै नभएको बेला हस्ताक्षर किन गरियो ? यसमा ठूलो चलखेल भएको छ, हस्ताक्षर पत्रमा एकातिर चीनीयाँ कम्पनीको पक्षबाट गरिएको छ भने अर्कोतर्फ नेपालबाट व्यक्तिको नाममा हस्ताक्षर गरिएको छ, एउटा व्यक्तिलाई राज्यले कसरी लिने ?

सभापति उपाध्यायले कम्पनी कस्तो हो त्यसको बारेमा थाहा र एकिन जानकारी नै नराखी हतारमा सम्झौता गर्नु गलत रहेको भन्दै थपे,‘ब्ल्याक लिष्टमा परेको कम्पनीसँग यसरी सम्झौता गर्नु नै गलत थियो, राष्ट्रिय हित विपरित भएको छ, प्रक्रिया र नियत नै बदयिनतपूर्ण छ।’

स्वदेशी पुँजीलाई प्रोत्साहन गरेर परियोजना बनाउनुपर्ने र अन्र्तराष्ट्रिय पुँजी भित्र्याउनको लागि ग्लोबल टेण्डर आह्वान गर्नुपर्ने सामान्य प्रक्रियालाई समेत तत्कालिन मन्त्रीले मिचेको उनको आरोप थियो । उपाध्यायले अन्तर्रा्ष्ट्रिय बोलपत्रबाट सबैभन्दा सस्तोमा बनाउनसक्ने कम्पनीलाई आयोजना दिनुपर्नेमा त्यसो नगरिनु दुःखद रहेको बताए ।

सभापति उपाध्यायले चार दिनभित्र (असोज ८ गते) चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता, मन्त्रिपरिषदले गरेको अनुमोदन, हालसम्म भएका प्रयास लगायतका सम्पुर्ण विवरण पेश गर्न पनि निर्देशन समितिले दिईसकेको जानकारी दिए । त्यस्तै समितिले अर्काे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बयान लिने निर्णय गरेको उनले बताए । ‘बुढीगण्डकी जलविद्युत आयोजनाबारे हालसम्म भएका सहमति र सम्झौताहरुबारे अब अर्काे बैठकमा सम्माननिय प्रधानमन्त्रीसँग छलफल गर्छाै’, सभापति उपाध्यायले जानकारी दिए ।

उपाध्यायले बुढीगण्डकी जलबिद्युत आयोजना सरकारले चिनियाँ कम्पनीलाई बिक्री गरेको आरोप लगाए । उनले चाईना गेजुवालाई कम्पनीलाई परियोजना बिक्री गरिएको दाबी गरे । उनले परियोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिनु बिषयगत र प्रक्रियागत रुपमा गलत भएको बताए । वर्तमान संसदको कार्यकाल छोटो रहेको भन्दै उनले बुढीगण्डकी जलबिद्युत आयोजनाबारेमा यही समितिले छानविन गर्ने र एउटा निर्णयमा पुग्ने विश्वास दिलाए ।
उनले आफ्नै पार्टीका नेता तत्कालिन मन्त्री भएको उल्लेख गर्दै भने,‘पार्टी सेकेण्डरी कुरा हो, पार्टी त भोलि नरहन पनि सक्छ नि, तर मलाई विश्वास छ मेरो पार्टीले मलाई भ्रष्टाचार र अनियमितता रोक्नको लागि पूर्ण सहयोग गर्छ, किनकी पार्टीको मुल उद्देश्य पनि यही हो।’ लेखा समितिले पछिल्लो समय बुढीण्डकी, नेपाल आयल निगम, भैरहवा विमानस्थल, साझा प्रकाशनबारे छानबिन गरिरहेको उनको भनाई थियो । पछिल्लो समय नेपालमा राजनीतिक निर्देशित र सरकार संरक्षित भ्रष्टाचार मौलाएको उनको दाबी थियो । उनले तत्कालिन उर्जामन्त्री शर्माले नेपालको पानी, जनताको लगानी भनेर नारा दिएको उल्लेख गर्दै भने,‘बुढीगण्डकीको हकमा के उहाँको भनाई सुल्टो भयो त? भएन नि ?’

तारा गाउँको विषय गम्भिर रुपमा उठाउनुपर्छ, सलंग्नको बारेमा फाईल खोलेर कारबाही गर्नुपर्छ : पोखरेल
त्यस्तै कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले पनि बुढीगण्डकी परियोजनामा व्यापक अनियमितता भएको आरोप लगाए । उनले भने,‘लेखा समितिले एउटा निर्देशन दिईसकेको छ, अब त्यसलाई जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्छ, सार्वजनिक लेखा समितिका सभापतिजीले पनि स्पष्ट रुपमा आफ्ना कुराहरु राख्नुभएको छ, उहाँले पनि बोलेकोजस्तैगरि निर्णय लिनुहोला।’ उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउन सकिन्छ भन्दा जिभ्रो टोक्ने हाल आयोजना सम्पन्न हुने दिशामा पुग्दा तै चुप मै चुपको अवस्थामा पुगेको टिप्पणी गरे । उनले बूढीगण्डकी जलविद्युत् आयोजना पनि स्वदेशी श्रम र सीपमा नै निर्माण गर्न सकिने धारणा राखे ।

पोखरेलले बुढीगण्डकी परियोजनामा बद्नीयतपूर्ण काम भएको भन्दै त्यस्तो कार्य गर्नेलाई कुनै पनि हालतमा छुट दिन नहुने बताए । उनले भने,‘व्यापक अनियमितता भएको छ, यसमा संलग्नतालाई छुट दिनु हुँदैन, यदि त्यसो गरियो भने गम्भिर अपराध हुन्छ।’

त्यस्तै उनले बुढीगण्डकी आयोजनामा गलत भएकोले काम अघि नबढाउन आग्रह समेत गरे । उनले नेताहरुलाई चरित्र सच्याउन पनि आग्रह गरेका छन् ।

पोखरेलले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जसरी पनि पदमुक्त गर्ने उद्देश्य लिएर चौबीस घन्टे स्पष्टीकरण सोध्ने कामको तयारी मन्त्रीले गरिरहेको समाचार बाहिर आएको भन्दै त्यसको विरोध गरे । उनले भने,‘उनलाई हटाउने काम भयो भने संस्थागत भ्रष्टाचार भएको पुष्टि हुन्छ।’ उनले गौतममाथि कारबाही भयो भने नाँगो अपराधिकरण भएको ठहर हुने समेत ठोकुवा गरे ।

त्यस्तै उनले तारा गाउँ अर्थात ह्यात होटेलमा रहेको सरकारको ३९ प्रतिशत सेयर अहिले ९ प्रतिशतमा झर्नुको कारणबारे पनि लेखा समितिले गम्भिर रुपमा उठाउनुपर्नेमा जोड दिए । उनले उक्त प्रकरणमा संलग्नहरुलाई फाईल खोलेर धमाधम कारबाही गर्नुपर्ने माँग् गरे ।

२ नम्बर प्रदेशमा हाम्रो पार्टी दोस्रो हुन्छ : यादव
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले पनि बुढीगण्डकी आयोजनामा व्यापक चलखेल भएको बताए । उनले भने,‘चलखेल भएको छ, सरकार आउने वित्तिकै यस्तो हुने भएको छ, नियम कानून मिचेर भ्रष्टाचार भएको छ, भएका योजनाहरु पनि समयमै सम्पन्न हुँदैन्।’ उनले नेपालका ठूला ठूला आयोजनाहरु पनि अलमलाएर राख्ने काम भएकोप्रति गुनासो पोखे।

उनले अनियमितता भएको ठहर गभए स्वयम् मन्त्री नै कारवाहीको भागीदार हुने स्पष्ट पारे । उनले भने,‘राष्ट्रिय गौरव जोडिएको विषयमा मनोमानी ढंगले खेलबाड गर्ने काम भएको छ।’

त्यस्तै निर्वाचनको परिणामलाई लिएर आफू त्यति सन्तुष्ट हुन नसकेको पनि बताए । उनले भने,‘निर्वाचनका मतपरिणामहरु आउँदैछन्, ७३ प्रतिशत मत झर्नु नै खुशीको कुरा हो, यसकोलागि हाम्रो पार्टीले धेरै ठूलो जोखिम उठाएकै हो।’ यादवले सरकारले २ नम्बर प्रदेशको चुनावमा पनि धाँधली गरेको आरोप लगाए । उनले भने,‘धाँधली भएको छ, तर हामीले सहेर बसेका छौं।’ यद्धपी उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पूनः त्यस्तो हर्कत नदोहोर्याउनको लागि सरकारसँग आग्रह गरे । उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टी दोस्रो हुने दाबी गरे । यादवले भने,‘हुन त हामी पहिलो पार्टी हुनुपर्ने हो, तर यहाँ धाँधली भयो, तर हामी जनमतलाई स्विकार गरेर अघि बढ्छौं, हामी दोस्रो हुन्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *