बानेश्वरस्थित एभरेस्ट होटेलका मालिक लारी पक्राउ

काठमाडौं : महानगरीय प्रहरीले लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भइ फरार रहेका एभरेस्ट होटेलका मालिक मस्कुर अहमद लारी पक्राउ परेका छन् । लारीलाई बिहीबार बिहान उनको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको हो ।

लारी २०६९ सालदेखि फरार थिए । गत आइतबार मात्र एभरेस्ट होटेलको सेयर विवादको मुद्दामा सर्वोच्च अदालतले मस्कुर अहमद लारी र नज्मा मस्कुर अहमद लारीको पक्षमा फैसला सुनाएको थियो।

लारी एभरेस्ट होटेलका संस्थापक मकबुल अहमद लारीका भतिज हुन्। पञ्चायतकालमै लखनउबाट काठमाडौं छिरेको लारी परिवारले सुरुमा मदिरा व्यवसाय गरेको थियो। ठेक्का लाएर मदिरा बिक्री वितरण हुने जमानामा मकबुल अहमद लारी मदिराका ठूला खेलाडीमा गनिने भएका थिए।

मदिरा आपूर्ति गर्न उनले लारी डिस्टिलरी स्थापना गरेका थिए। राजपरिवारकै निकटस्थ बन्न सफल भए पनि लारी परिवारले नेपाली नागरिक बन्न भने रुचि देखाएनन्। मदिराबाट कमाएको पैसाले उनले एभरेस्टका साथै लखनउ र कोलकातामा होटेल व्यवसाय सुरु गरेका थिए।

१९८१ देखि सञ्चालनमा आएको होटेलमा मकबुल अहमद लारीले करिब साढे तीन करोड रुपैयाँ पुँजी लगानी गरेका थिए। मकबुलले होटेलको आधा स्वामित्व आफ्नै भतिज मस्कुर अहमद लारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिएका थिए। पछि मकबुलचाहिँ लखनउमै बस्न थालेका थिए।

मकबुलको निधनपछि उनको स्वामित्व आफैंले खरिद गरिसकेको भन्दै मस्कुरले भतिज मुजाफलाई सेयर नदिएपछि पारिवारिक विवाद सुरु भएको थियो। अन्नपुर्ण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *