बाढी पीडितहरुलाई उद्धार र राहत वितरणमा एकद्धार प्रणाली लागु नगर्न नेता तथा मानवअधिकारकर्मीहरुको आग्रह विदेशमा बस्ने नेपालीहरु बाढी पीडितहरुलाई सहयोेग गर्न तयार छौं : सुनुवार

काठमाडौं, १ भदौ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता भरतबहादुर खड्काले बाढि पीडितको नाममा राजनीति गर्न नहुने बताएका छन् ।

बेलायमा बस्ने सामाजिक नेपाली अभियन्ता एवम् एस.जि.आईको सदस्य किशोरकुमार सुनुवारले आयोजना गरेको विशेष अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेता खड्काले पछिल्लो समयमा बाढि पीडितको नाममा राजनीति भएको भन्दै राहत र उद्धारमा सबैलाई लाग्न र राजनीति नगर्न आग्रह गरेका हुन्।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै सांसद समेत रहेका नेता खड्काले सिमानामा भारतको तर्फबाट एकलौटी रुपमा निर्माण गरेका बाँधको बारेमा सरकारले तत्काल कुटनीतिक पहल चाल्नुपर्नेमा जोड दिए ।

नेता खड्काले तराई र पहाडको स्टाटस बुझेर त्यसबाट आईपर्ने प्राकृतिक विपत्तिलाई न्यूनिकरण गर्नको लागि सरकारले पूर्वाधार निर्माण र पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमालेका नेता एवम सांसद रामेश्वर फुयाँलले वर्तमान स्थितिमा सरकार भए नभएको कुनै भान नभएको आरोप लगाए ।

नेपालको कोशी बाँधको चाबी नयाँ दिल्लीमा हुनु दुःखद् भएको भन्दै यस विषयमा सरकार नाजवाफ भएको उनको आरोप लगाए । उनले भने,‘एकद्धार प्रणाली लागु गरेर सरकारले अयोग्यता परिचय दिईरहेको छ, यस्तो विपत्तिका बेलामा सरकार छ या छैन भन्ने अनुभूति भईरहेको छ।’

बाढीले निम्त्याएको विपत्तिले तराईका मानिसको जीवनलाई करकलाको पातमाथि अडाई रहेको बताउँदै नेता फुयाँलले भने,‘हामीले जतिपनि तस्बिरहरु देखेका छौँ, यी सबै तस्बिरले हामीलाई दुःखित बनाएका छन्, यस्तो स्थितिमा सरकारले गर्नुपर्ने जति राहत सहयोग पु¥याउन सकेको छैन।’

उनले अघि थपे,‘एकद्धार प्रणालीले भूकम्पको बेलामा हामीलाई असफल बनाईसकेको छ, फेरी पनि यस्तो अवस्थामा सरकारले राहत र उद्धारमा एकद्धार प्रणालीले हामीलाई दुखित बनाएको छ, हामीले पूनःस्थापना र पूनःनिमार्णको लागि मात्र यो प्रणाली लागु हुनुपर्छ भनेका छौँ।’

त्यस्तै मानव अधिकारवादी चरण प्रसाईले लोकतान्त्रिक मुलुकमा एकद्धार प्राणाली लागु गरेर सरकारले गम्भिर भूल गरेको आरोप लगाए ।

सरकारको आदेशलाई कसैले पालना नगरीकन विपत्तिमा परेकाहरुलाई राहत र उद्धार गर्नुपर्नेमा जोड दिँदै प्रसाईले भने,‘भूकम्पका बेलामा पनि सरकारको आदेश यूवाले सुनेनन्, बाढिको बेला पनि सुन्ने छैनन्, यस्तो स्थितिमा सक्नेजति सहयोग गर्नुपर्छ।’

भूकम्पका बेला जारी गरेको संविधान बाढिको बेला संशोधन गर्ने हल्ला आईरहेको बताउँदै उनले थपे,‘भूकम्पको बेलामा एक ठाउँमा आएका नेताहरु बाढिको बेलामा आउँछन् कि भन्ने जनताले आशा गरिरहेका छन्, यस्तो स्थितिमा जनताहरु पीडामा छन्, पीडितले तत्काल राहत पाउनुपर्छ।’

त्यस्तै अर्का मानव अधिकारीकर्मी एवम् अधिवक्ता दिनेश त्रिपाठीले नागरिकमा राईट होल्डर र सरकार डिउटी होल्डर भएकोमा जोड दिएका छन् । सरकारले लागु गरेको एकद्धार प्रणालीको वास्ता नगरिकन राहत र उद्धारमा लाग्न सबैलाई त्रिपाठीले आग्रह गरे।

उनले भने,‘सरकारले सबैलाई राहत तथा उद्धारमा जुटन्को लागि आग्रह गर्नुपर्नेमा उल्टै निरासा र कारवाही गर्छु भन्नु बेकार हो, यी सबै कुराहरु लोकतन्त्रको खिलाप हो।’

त्रिपाठीले अघि थपे,‘भूकम्पको बेलामा हजारांै पाल, खाद्यान्न सामाग्री नस्ट भए तर पीडितले राहत पाएनन् अझैपनि पालमुनि बसिराखेका छन्, अहिलेको बाढिले पारेको प्रभावलाई सामान्य स्थितिमा ल्याउनको लागि धेरै समय लाग्छ, पीडितहरुको नाममा आएको रकम कहाँ प्रयोग भएको छ? त्यो जनतालाई दिने कि नदिने ? सरकारले अहिले सरकार असफलता र अयोग्यताको परिचय दिईरहेको छ।’

कार्यक्रममा सामाजिक अभियान्ता किशोरकुमार सुनुवारले मुलुक परिवर्तन र देशको समृद्धिको लागि पाँचवटा मानिस भए पुग्ने दाबी गरे ।

उनले भने,‘हामीले धेरै मानिसको अपेक्षा गरेका छौँ, तर समाजलाई सही मार्गमा हिडाउँनको लागि शिक्षा मुर्ति, स्वास्थ्य मुर्ति, न्याय मुर्ति र सञ्चार मूर्तिको खाँचो पर्छ, यी व्यक्तिहरुमा समाजमा छन् भने विश्वको उत्कृष्ट मुलुक बन्छ, तर यहाँ यी पाँचै मुर्तीले आफ्नो भलाई र प्रभावित भएर काम गरिरहेका छन्, त्यसैले हाम्रो मुलुक नेतामुखि भएको हो ।’

भूकम्प आएका बेलामा संविधान जारी भएको र नेताजन एक ठाउँमा आएको भन्दै फेरी पहिलेकै हालतमा आईपुगेको दाबी गर्दै सुनुवारले भने,‘भूकम्पको बेला जारी गरिएको संविधानले सबैलाई समेट्न सकेन, यता जनता पीडामै छन्, पछिल्लो समयमा बाढि पीडितले राहत पाएका छैनन्, सरकार यस कार्यमा असफल भएको छ।’ उनले विदेशमा रहेका नेपालीहरु नेपाललाई सदैव सहयोग गर्न तयार रहेको बताए । उनले थपे,‘हामी विदेशमा भएपनि हाम्रो मन भने नेपालमै छ, हामी स्वदेशको मायाँ बोकेर अघि बढिरहेका छौं।’
त्यस्तै क्लबका सभापति ऋषि धमलाले पनि भुकम्पको बेलाझैं सम्पूर्ण नेपालीहरु एक जुट भएर उद्धार तथा राहतमा जुट्नुपर्नेमा जोड दिए । उनले थपे,‘नेताहरुले सामूहिक रुपमा पीडितहरुको मन बुझाउन र सान्तावना दिनको लागि जानुपर्छ, प्रमुख दलका शीर्ष नेताहरु प्रभावित जिल्लाहरुमा पुग्नुपर्छ, अब छरिएर जानुहुँदैन्, एक भएर जानुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *