प्रधानमन्त्री प्रचण्डले केही राम्रा काम खोज्नु भएको छ, त्यो पर्याप्त भएन : माधव नेपाल

१७ असाेज, काठमाडाैँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको बताएका छन् । अझ राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्ने उनको धारणा छ ।

जनकपुरधाममा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँले केही राम्रा काम पनि गर्न खोज्नु भएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ ।’

सत्ता गठबन्धनको तर्फबाट वर्तमान सरकारलाई सहयोगी भूमिका खेल्न तयार रहेको नेता नेपालले बताए ।

अहिले जुन सरकार छ त्यही सरकारलाई अगाडि बढाउने बताउँदै उनले भने, ‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन । कहिले मौका आउँछ भनेर ढुकेर बस्ने होइन ।’ एकीकृत समाजवादी मात्र नभइ नेपाली कांग्रेस पनि यही सरकारलाई अघि बढाउने पक्षमा रहेको उनको भनाइ छ ।

‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा जी उहाँहरु यही सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यही सरकारलाई अघि बढाउने पक्षमा छौं,’ नेता नेपालले भने, ‘हामी कसैले पनि यो सरकारलाई कमजोर बनाउन चाहँदैनौं । यो सरकारको खुट्टा तान्न चाहँदैनौं । यो सरकारलाई हामी असहयोग गर्न चाहँदैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *