प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज न्यूयोर्कबाट चीन जाने

५ असोज, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालको साताव्यापी चीन भ्रमण शुक्रबारदेखि सुरु हुँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन हाल न्यूयोर्कमा रहेका दाहाल आज चीनको हाङ्जाओ प्रस्थान गर्नेछन् । आफ्ना चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा दाहाल न्यूयोर्कको स्थानीय समय अनुसार आज दिउँसो १ः३० बजे चीन प्रस्थान गर्नेछन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि दाहालको चीन भ्रमणको औपचारिक एजेण्डा बिहीबार परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको हो । उनको भारत भ्रमणपछि लामो समयदेखि चीन भ्रमणको तयारी भइरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने भएका छन् ।

राष्ट्रपति सी १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन हाङ्जाओ जानेछन् र दाहाल अमेरिकाबाट आएपछि उहाँहरुबीच भेटवार्ता हुनेछ । शनिबार बिहान १० बजे प्रधानमन्त्री दाहाललाई हाङ्जाओ विमानस्थलमा चिनियाँ विदेशमन्त्री वाङ यीले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि दाहाल र राष्ट्रपति सीबीच १२ः३० बजे प्रारम्भिक भेटवार्ता हुने कार्यक्रम छ, जसमा उनीहरुले सँगै खाजा खानेछन् । त्यसलगत्तै प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच शनिबार अपराह्न ४ बजे द्विपक्षीय भेटवार्ता हुने भएको छ । औपचारिक बैठक सकिएपछि दाहाल बेलुका ८ बजे उद्घाटन हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यसपछिको दिन दाहाल आइतबार दिउँसो १२ बजे बेइजिङ पुग्ने बताइएको छ । उनलाई बेइजिङ विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने बताइएको छ ।

प्रधानमन्त्री दाहाल र उनका समकक्षी ली छ्याङबीच सोमबार बिहान १० बजे औपचारिक द्विपक्षीय भेटवार्ता हुने भएको छ । तियानमेन स्क्वायरको ‘ग्रेट हल अफ द पिपुल’ मा उनको स्वागत कार्यक्रमको आयोजना गरिएको छ भने चिनियाँ जनमुक्ति सेनाले दाहाललाई ‘गार्ड अफ अनर’ दिने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल र उनका समकक्षी लीबीच करिब २ घण्टा औपचारिक भेटवार्ता हुने बताइएको छ । बैठकमा विभिन्न सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । आफ्नो साताव्यापी भ्रमणका क्रममा दाहालले एफएनसीसीआई र चाइना इन्टरनेशनल ट्रेड प्रमोशन काउन्सिलको संयुक्त पहलमा आयोजना हुने ‘नेपाल–चीन लगानी सम्मेलन’ लाई सम्बोधन गर्ने कार्यक्रम छ । यो कार्यक्रम बेइजिङस्थित नेपाली दूतावासमा हुनेछ ।

दाहालले चोङकिङ नगरपालिकाको कृषि तथा औद्योगिक विकासको पनि निरीक्षण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी सेप्टेम्बर ३० मा फर्किनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *