प्रधानमन्त्री दाहाल बेइजिङ पुगेका छन्

७ असाेज, काठमाडौं : जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज बेइजिङ आइपुगेका छन् । १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन हङझाउबाट स्थानीय समयअनुसार बिहान ११ बजे उनी यहाँ आइपुगेका हुन् ।

प्रधानमन्त्रीले आज बेइजिङमा हुन लागेको नेपाल–चीन व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र चिनियाँ उद्योगी तथा व्यवसायीहरुको छाता सङ्गठन सीसीपीआईटीले चीनस्थित नेपाली दूतावासको समन्वयमा सम्मेलन आयोजना गर्न लागेको हो ।

लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी तथा व्यवसायी सहभागी हुनेछन् । शिखर सम्मेलनमा नेपाल र चीनबीचको लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा पनि छलफल हुनेछ ।

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले आज प्रधानमन्त्री दाहाल र उहाँसँगको चीन भ्रमणमा रहेका नेपाली टोलीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *