प्रदेश नं १ को मुख्यमन्त्रीको लडाईमा जीवन घिमिरे पनि उत्रिए

विराटनगर २२ माघ- प्रदेश नं १ को मुख्यमन्त्रीको लडाईमा जीवन घिमिरे पनि उत्रिएका छन् ।सुरुमा शेरधन राई र भिम आचार्य मात्रै मुख्य मन्त्रीको लडाईमा रहेकामा अब जीवन घिमिरे पनि मुख्य मन्त्रीको लडाईमा सामेल भएका हुन् । जीवन घिमिरे मोरङ क्षेत्र नम्बर ४ (ख) का प्रदेश सांसद हुन् ।

कुल ९३ प्रदेश सांसदहरु रहेको प्रदेश १ मा एमालेको एकल बहुमत सहित ५१ सिट छ । एकल बहुमत रहेकाले जो एमालेको संसदीय दलको नेता हुन्छ, उही नै मुख्यमन्त्री हुने पक्कापक्की हुनाले एमालेमा दलको नेताको दाबेदारी अर्थपूर्ण छ ।

मुख्यमन्त्रीको दाबा गरिरहेका घिमिरे आफू वीचमा मुख्यमन्त्री दाबा गर्न नआएको बताउँछन् । तर आफ्नो उम्मेद्वारी फिर्ता नगर्ने जीवनले बताएका छन् । घिमिरे भिम आचार्य टिमका हुन् ।

घिमिरेले आफू पदीय हिसाबले मुख्यमन्त्रीका अन्य दाबेदारभन्दा जुनियर नभएको बताएका छन् । भीम आचार्य र आफू सँगै अनेरास्ववियुको केन्द्रीय सदस्य भएको र आफू कोशी अञ्चल सचिव हुँदा शेरधन राई भोजपुरको जिल्ला अध्यक्ष रहेको उदाहरण दिँदै घिमिरेले आफू राईभन्दा सिनियर रहेको बताएका छन् ।

एमाले संसदीय दलको नेता चयनमा घिमिरेको पक्षमा रहेको मत निर्णायक हुने देखिन्छ । आचार्य र घिमिरे माधव नेपाल समुहका हुन् भने राई ओली निकट मानिन्छ ।

एमालेको संस्थापन पक्षका नेताहरु आफूसँग २६ र माधव नेपाल समूहमा २५ मत रहेको तर्क गर्छन् । तर, माधव नेपाल समूहका नेताहरु भने माधव पक्षमा २८ र संस्थापन समूहमा २३ मत मात्रै रहेको जिकिर गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *