पार्टि भत्काउने मेरो काम हो र माओवादी केन्द्र पनि अब भत्किदै छ : प्रचण्ड

काठमाडौ २५ असोज- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाउने आफ्नो काम भएको बताएका छन् । नेकपा एकता केन्द्र हुँदै माओवादी केन्द्रसम्म आइपुग्दा आफूले विभिन्न पार्टीहरु भत्काएर नयाँ बनाएको प्रचण्डले बताए ।

नेकपा संयुक्तसँग पार्टी एकता घोषणा सभालाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘मैले जहिले पनि पुरानो पार्टी भत्काउने, नयाँ पार्टी बनाउने । आन्दोलनको पुरानो रुप भत्काउने, नयाँ रुप अवलम्वन गर्ने । समाजमा एउटा नयाँ तरंग पैदा गर्ने, मान्छेका दिमागमा नयाँ बहस सृष्टि गर्ने र त्यही प्रक्रियामा समाजमा क्रान्तिकारी परिवर्तन ल्याउने कुरामा विश्वास गरें । मैले र हाम्रो पार्टीले मार्क्सवादलाई त्यसरी नै बुझ्यौं ।’

प्रचण्डले थपे, ‘४६ सालको जनआन्दोलन अगाडि नेपालका बिभिन्न कम्युनिष्ट आन्दोलनका बिभिन्न घटकमध्ये एउटा घटकको महामन्त्री बन्ने अवसर प्राप्त भयो, जतिबेला महामन्त्री बनें । मेरो काम चाहिँ आफू महामन्त्री बनेको पार्टी भत्काउने नै भयो । म महामन्त्री बनेको केही महिनामै एकता केन्द्र बनेर मशाल भन्ने पार्टी भत्काएँ मैले । एकताकेन्द्र पाँच वर्ष चलाएपछि एकताकेन्द्र पनि भत्काएर माओवादी बनाएँ । १० वर्ष माओवादी जनयुद्ध भएपछि माओवादी भत्काएर एकीकृत माओवादीमा गएँ । अनि केही वर्ष एकीकृत माओवादी भए पछि त्यो पनि भत्काएर हामी माओवादी केन्द्र भएका छौं ।’

प्रचण्डले अब माओवादी केन्द्र पनि भत्किने र नयाँ बन्ने बताए । एमाले लगायतका दलसँग पार्टी एकता प्रक्रिया अघि बढेको प्रसंगलाई जोड्दै प्रचण्डले भने, ‘अब माओवादी केन्द्र पनि भत्किँदै छ र अर्को एउटा नयाँ पार्टी र नयाँ शक्ति देशमा पैदा हुँदैछ ।’

नयाँ परिस्थितिले नयाँ शिराबाट सोच्नु पर्ने अवसर र चुनौति दुबै खडा गरिदिएकाले एमाले लगायत दलसँग एकताको प्रक्रिया अघि बढाएको प्रचण्डले स्पष्ट पारे । यो एकताले नेपालबाट समाजवादको नयाँ मोडल दिन सकिने प्रचण्डको विश्वास छ ।

‘प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद नेपालको वामपन्थी आन्दोलन आक्रामक स्थितिमा छ । त्यो देशभित्र रक्षात्मक छैन । झण्डै दुई तिहाईभन्दा बढी वामपन्थी जनमत छ । त्यो जनमतलाई एकीकृत र केन्द्रिकृत गर्न सक्दा नेपालबाट २१ औं शताव्दीमा समाजवादको नयाँ मोडेल दिन सकिन्छ । त्यो परिस्थिति यतिबेलाको विश्वमा नेपालमा मात्रै बस्तुगत रुपले विद्यमान छ,’ प्रचण्डले भने भनेर अनलाईन खबरले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *