काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ ।
म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि खेलको २३औँ मिनेटमा जिन मोई प्याएले गोल गरिन् । म्यानमारकी अर्की खेलाडी यिन लुन इयानले ह्याट्रिक पूरा गरिन् । उनले खेलको ४४औँ, ४७औँ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।
यसैगरी युन वादी हलाइङ्गले खेलको ६९औँ मिनेटमा एक गोल थपिन् । अब नेपालले आफ्नो दोस्रो खेल यही जेठ २५ गते चीनसँग खेल्नेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा म्यानमार, चीन र चाइनिज ताइपेइ रहेका छन् ।