नेपालमा पनि टाटुको क्रेज बढ्दै

काठमाडौं । टाटु एउटा कला हो । नेपालमा पनि यसको क्रेज बढ्दै गएको छ । टाटुका बारेमा वृद्धि भएको सकारात्मक बुझाइका कारण टाटु मोह बढ्दै गएको हो । शरीरमा टाटु खोप्नेहरूको लक्ष्य एउटै हुँदैन । कोही आफूलाई युनिक देखाउन टाटु खोपाउँछन् भने कोही टाटुको प्रयोगमार्फतआफ्नो शरीरमा भएका अनावश्यक दाग छोप्छन् र सुन्दर देखिन्छन् । सुन्दर र हेन्डसम देखिने रहरले टाटुतर्फ आकर्षित हुनेहरू पनि उत्तिकै छन् ।

नेपालमा १५ सयदेखि २० हजारसम्मका टाटु खोपिँदै आएको छ । टाटु खोप्दाको मेहनत, समय र साइजअनुसार यसको शुल्क निर्धारण हुन्छ । टाटु खोप्नेहरू दिनप्रतिदिन बढिरहेका छन् । ‘बढी मात्रामा १८ देखि ३५ वर्ष उमेर सम्मकाले टाटु खोप्ने गरेका छन् । त्यसका अतिरिक्त बालबालिकादेखि वृद्धवृद्धासम्ममा टाटुको मोह पाइन्छ,’ बौद्ध इन्क ग्यालरी आर्टका सञ्चालक राजु लामा योन्जनले भने । टाटु आर्टिस्टको कलाका कारण समेत यसप्रतिको आकर्षण बढेको छ । महिला तथा पुरुष दुवैले टाटु खोपाउँछन् । टाटुले शरीरलाई सिँगार्ने काम मात्र नगरेर शरीरमा भएका खटिराहरू समेत हटाउन सघाउँछ ।

सुरु–सुरुमा टाटुलाई त्यति राम्रो मानिँदैनथ्यो, तर अहिले टाटुप्रतिको बुझाइमा सकारात्मक परिवर्तन आएको छ । टाटु बनाइसकेपछि त्यसलाई मेट्न केही गाह्रो हुन्छ । टाटु मेट्न रेजर गरिन्छ तर त्यसलाई पूरै हटाउन सहज हुँदैन । त्यसकारण टाटु खोप्न मन पराउनेहरूले आर्टिस्ट चिनेर मात्र काम गराउनुपर्छ— यही काममा १० वर्षको अनुभव सँगालेका लामाले भने ।

नर्मल टाटु २० मिनेटमै खोप्न सकिन्छ । आर्ट हेरेर कुनै दिनभर, कुनै दुई–तीन दिनसम्म पनि लाग्छ । टाटुका विभिन्न क्याटागोरी हुन्छन् ।

आफ्नो रुचिअनुसार यसलाई प्रयोग गर्न सकिन्छ । टाटु आर्टिस्टले भगवान्देखि खेलाडीसम्म, विभिन्न आकृतिदेखि कला–संस्कृतिसम्मलाई शरीरमा कलात्मक ढंगले प्रस्तुत गर्छन् । आफूलाई मनदेखि नै मन परेका विषयलाई टाटु आर्टिस्टमार्फत शरीरमा प्रतिबिम्बित गर्न पाउँदा टाटुप्रेमीहरू पनि उत्साहित हुन्छन् । कतिपय व्यक्तिले प्रदर्शनकै लागि टाटु खोपाउँछन् । उनीहरू आफ्नो टाटु प्रदर्शन गर्दै अरूको ध्यान खिच्न खोज्छन् । कोही सम्झनाका लागि टाटु बनाउँछन् । उनीहरू आफ्नो टाटुको प्रदर्शन गर्दैनन्, स्पेसल व्यक्ति अथवा आफैंले हेर्नका लागि टाटु बनाउँछन् । गोप्य अंग वरिपरी टाटु खोपाउनेहरू पनि उत्तिकै हुन्छन् । कतिपयले बढी मात्रामा देखिने शरीरको भागमा टाटु खोपाउने गरेका छन् । टाटुको प्रदर्शन गर्मीमा बढी गरिन्छ । आफूलाई आकर्षक देखाउन कलाकार तथा खेलाडीले यसको प्रयोग गर्दा उनीहरूका प्रशंसक आकर्षित हुने गरेका छन् ।

सन् १९६० को दशकबाट नेपालमा विदेशी पर्यटक मार्फत नेपालमा टाटु देखिन थालेको हो । सन् १९९० को दशकमा नेपालमा टाटु खोप्ने स्टुडियो स्थापना हुन थाले । त्यति बेलाका टाटुलाई सोखका रूपमा लिइन्थ्यो । अहिले टाटुलाई फेसनका रूपमा लिन थालिएको छ, फलस्वरूप अहिले यसको प्रयोग र आकर्षण बढ्दै गएको छ । काठमाडौं, पोखरा आदि ठाउँमा प्रशस्तै टाटु स्टुडियो छन् र यो क्रम नेपालका अन्य ठाउँमा पनि फैलँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *