धरानमा शंकास्पद मृत्यु भएको अनुषाको पोस्टमार्टम रिपोर्ट आयो

फागुन २० धरान, केहि दिन अगाडि शंकास्पद मृत्यु भएको १३ बर्षीय अनुषा राईको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विधिविज्ञान प्रयोगशाला (फरेन्सिक) विभागले मृतक अनुषा राईको पोस्टमार्टम रिपोर्ट प्रहरीलाई शुक्रबार उपलब्ध गराएको हो ।

धरान १६ पुण्यमार्ग बस्ने बलिमान राईको घरमा धर्म पुत्रीको रुपमा बस्दै आएकी अनुषा राई, धरान १३ बस्ने जीतबहादुर राईको १३ वर्षीया माइली छोरी हुन् । अनुषा बलिमान राईको घरमा फागुन १७ गते बिहान विषादि सेवनबाट शंकास्पद मृत्यु भएको थियो । किशोरीको मृत्युलाई स्थानीय बासिन्दाले शंकास्पद मान्दै यौन दुर्व्यवहार र चरम यातना दिएकाले विष सेवन गर्न बाध्य पारिएको वा षड्यन्त्र गरेर विष दिएर हत्या गरिएको आरोप लगाउँदै आएका छन् ।

पोस्टमार्टम रिपोर्टले किशोरीमाथि बलात्कार भएको नदेखिए पनि उनको यौनाङ्गको बनावट र आकारले यसअघि शारीरिक सम्पर्क भएको संकेत देखाएको छ । फरेन्सिक श्रोतका अनुसार शारीरिक सम्पर्क नभए पनि किशोरीको यौनाङ्गको कतिपय अवस्थामा हाइमेन च्यातिनु सामान्य मानिन्छ तर मृतक किशोरीको हाइमेन पनि च्यातिएको र पहिलेदेखि नै शारीरिक सम्पर्क हुँदै आएको जस्तो देखिनुले यौन दुर्व्यवहार हुँदै आएको संकेत देखिन्छ ।

पोस्टमार्टम रिपोर्टमा शरीरमा नयाँ पुराना साना-साना खतहरु देखिएको उल्लेख छ । टाउको पछाडि सानो चोट दिएको छ । हत्या भएको नदेखिए पनि बाँया हातमा ब्लेडले काटेको खत देखिएको रिपोर्टमा उल्लेख छ । उनको बाँया स्तनमा रातो डाम पनि देखिएको पोस्टमार्टमा रिपोर्टमा उल्लेख छ ।

बीपी प्रतिष्ठानका फरेन्सिक विभागीय प्रमुख एडिसनल प्रोफेसर डा सिवेन्द्र झा, डा विकाश साह, डा दिक्षान्त पोखरेल र डा सन्तोष कोइरालाको टोलीले पोस्टमार्टम रिपोर्ट तयार पारेको थियो ।

मृतक अनुषाका बाबु जीतबहादुरले अनुषालाई राई दम्पतीले शारीरिक, मानसिक यातना दिएको र विष सेवन गराएर हत्या गरेको किटानी जाहेरी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *