दुई सय ९६औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा विविध कार्यक्रम

काठमाडौ,२९ पुस- दुई सय ९६ औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ सप्ताव्यापीरूपमा मनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल इतिहास सङ्घ, सांस्कृतिक संस्थान, नेपाल इतिहास सङ्घ, गोरखा सेवा समाज, लाइन्स क्लब अन्तराष्ट्रिय बहु जिल्ला ३२५ नेपाल, पच्चिस प्लस नागरिक समूह, उज्यालो नेपाल, नेपाल निर्माण व्यवसायी महासङ्घ आदि सङ्घसंस्थाहरू सम्मिलित ‘२९६औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मूल समारोह समिति’द्वारा सप्ताव्यापी कार्यक्रमको आयोजना गरिएको थियो ।

यसै क्रममा मिति २०७४ पुस २३ गते प्रज्ञा पुस्तकालयमा एक पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराइएको थियो । पत्रकार सम्मेलनलाई कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले सम्बोधन गरेका थिए ।

यसै गरी मिति २०७४ पुस २४ गते प्रज्ञा–प्रतिष्ठानको नवनिर्मित पुस्तकालय भवनको हलमा एक विशेष विचार गोष्ठीको आयोजना गरिएको थियो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यता र लुम्बिनी बौद्ध विश्वद्यिालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरको सभापतित्वमा सम्पन्न विचार गोष्ठीमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, दर्शनका ज्ञाता प्रा.डा. वीरेन्द्र मिश्रको आतिथ्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि झलनाथ खनालले गोष्ठीलाई सम्बोधन गर्दै किरात कालमा किराती राजाहरूले, लिच्छवीकालमा लिच्छवी राजाहरूले र मल्लकालमा मल्ल राजाहरूले नेपाल एकीकरणको प्रयास गरेता पनि सफलता प्राप्त गर्न नसकेका तर पृथ्वीनारायण शाहले भने कुशलतापूर्वक बाइसे–चौवीसे राज्यमा विभक्त नेपालका राज्यहरूलाई एकीकरण गरेको बताए ।

एक्काइसौँ शताब्दी आरम्भ भएको दुई दशक पुग्न लाग्दा पनि पृथ्वीनारायणले एकीकरण गरेका राज्यका सीमाहरू कहाँ–कहाँसम्म थिए भनेर एकीन गर्न सकिने अवस्था नरहेको विचार व्यक्त गरे । खनालले भने, “अन्तराष्ट्रिय नियम–कानुनका कारण पनि आफ्नो देशको सीमा खोज्न कठिनाई रहेको छ । तर, अब हामी सङ्घीय गणतान्त्रिक मुलुकमा परिणत भएका छौँ । विश्वकै नमुना संविधान हामीले बनाएका छौँ । अब यसलाई व्यवस्थित र समृद्ध बनाउँदै लैजानु र यो मुलुकको भाग्य निर्माण गर्नु हाम्रो दायित्व र कार्यभार दुबै हो । यसो हुन सक्यो भनेमात्रै पृथ्वीनारायण शाहको सपना साकार हुन्छ ।”
पृथ्वीनारायण शाह साहसी, वीर र दूरदर्शी राजा भएको हुनाले नै आज मुलुक एक भएको उनको विचार थियो ।

सत्यमोहन जोशीले गोष्ठीमा आफ्नो विचार व्यक्त गर्दै पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रवर्धनकर्ता भएको बताए । उनले थपे , “एकीकरण भन्दा पनि उहाँले विभिन्न टुक्रे राज्यहरूलाई एकै मालामा उनेर राष्ट्रिय एकताको प्रवर्धन गर्नुभयो ।”

पूर्व कुलपति बैरागी काइँलाले, पृथ्वीनारायण शाहले जसरी नेपाललाई सबै जातको साझा फूलबारी बनाए त्यसै गरी पृथ्वीनारायणलाई पनि साझा बनाउनुपर्ने धारणा राखे ।

प्रा.डा. वीरेन्द्र मिश्रले सबै भाषा–भाषी, जाति–संस्कृति नेपालको सम्पदा भएको विचार व्यक्त गर्दै अनेकतामा विविधता नै राष्ट्रियता भएको उल्लेख गरे ।
गोष्ठीमा डा. जगमान गुरुङले ‘पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियताको विकास’, डा. रमेश ढुङ्गेलले ‘पृथ्वीनारायण शाह स्वधर्म संस्कृतिको नीति’, र प्रा.डा. सुरेन्द्र के.सी.ले ‘नेपाल एकीकरण र सामाजिक संरचना’ विषयमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले स्वागत र कुलपति गङ्गाप्रसाद उप्रेतीले धन्यवाद मन्तव्य राखेका थिए ।

यसै गरी मिति २०७४ पुस २५ गतेका दिन प्रज्ञा भवनमा आयोजित पुस्तक तथा चित्रकला प्रदर्शनीको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

यसै गरी पुस २७ गते बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको सांस्कृतिक टोली र नागरिक ¥यालीले नगरि परिक्रमा गरी प्रभातफेरी गरेको थियो । त्यसपछि जुलुसले सिंहदरबारको पश्चिम ढोकास्थित पृथ्वीनारायण शाहको प्रतिमामा गई माल्यार्पण गरेको थियो ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री तथा नेताहरूले पृथ्वीनारायणको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।

यसै गरी सोही दिन दिउँसो राष्ट्रिय सभा गृहमा ‘नागरिक सभा’को आयोजना गरियो । नागरिक सभालाई नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा मालेका महासचिव सीपी मैनालीले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा नेताहरूले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेकै कारण आज विश्वमा नेपाल भन्ने देशको अस्तित्व रहेको उल्लेख गर्दै शाहलाई इतिहासमा कहिल्यै पनि भुल्न नहुने विचार व्यक्त गरे ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् मूल समारोह समितिका अध्यक्ष गङ्गाप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रम उक्त समितिका सल्लाहकार मोदनाथ प्रश्रितले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल पनि उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *