तीन प्रतिशतको थ्रेस होल्ड दलिय निरंकुशता : सीपी गजुरेल

काठमाडौं २२ भदौ- सरकारले दलहरुले प्रत्यक्ष चुनाव जितेकै आधारमा दलिय हैसियत कायम गर्ने तथा प्रतिनिधिसभामा तीन प्रतिशतको थ्रेस होल्ड लागु हुनुपर्ने भन्नेबारे हालै पारित गरेको विधेयकलाई नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका नेता एवं देशभक्त जनतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले तीन दलिय निरंकुशताको संकेतका रुपमा टिप्पणी गरेका छन् ।

आज देशभक्त जनतान्त्रिक मोर्चा नेपालको नामबाट प्रेश वक्तब्य जारी गर्दै नेता गजुरेलले त्यस्तो टिप्पणी गरेका हुन् । उनले वक्तव्य मार्फत दलिय सिन्डिकेट भत्काउनका लागि आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

वक्तव्यमा भनिएको छ–‘तीन दलको सिण्डिकेट,“तीन दलको तानाशाही” ले देशलाई निरंकुशतातिर अघि बढाइरहेको र देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता समाप्त पार्ने काम गरिरहेको चर्चा व्यापक चलिरहेको र त्यसको बिरोध पनि भैरहेको सन्दर्भमा तिनवटै दलहरु मिलेर प्रतिनिधिसभामा तीन प्रतिशतको थ्रेस होल्डको विधेयक जबरजस्त लागु गराउन खोज्नुले मुलुकमा दलिय निरंकुशता हाबि भएको प्रमाणित गर्दछ।’

वक्तव्यमा थप भनिएको छ–‘संसदको विद्यमान् अंकगणित अनुसार संसदबाट यो विधेयक पारित भएको छ । जसकारण अन्य राजनीतिक दलहरु एक प्रकारले प्रतिवन्धित हुनपुगेका छन् र देश “लोकतान्त्रिक गणतन्त्र”को नाममा दुई वा तीन दलीय निरंकुशतातिर गएको छ ।’

नेता गजुरेलले मुलुकलाई दलिय निरंकुशताको खतराबाट जोगाउनका लागि, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नका लागि अर्को चरणको संघर्ष गर्नुपर्ने जरुरी रहेको भन्दै देशभक्त, सच्चा गणतन्त्रवादी शक्ति शक्ति र आम नागरिकसँग संघर्षका लागि तयारी अवस्थामा बस्न आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *