गायिका आभा मुकारुङको चौथो एल्बम “बहाब” चाडै स्रोता सामु आउदै

abhaनेपाली गीत-संगीतको दुनियाँमा कुनै नौलो नाम हैन आभा मुकारुङ । “कता हिडेको ? कसलाई खोजेको ? भनन भने हे, बिरानो परदेशी”, “काली पारे दाई हो हो”, “माया लाउन पनि गाह्रो”, “मार्यो नि मायाले”, “सम्झना राखी”, “हुर्रा हा हा”, “सम्झिएर तिमीलाई”, “पहाडी ठिटो”, “यो थलोमा एक्लै छाडी”,”आमा”,”हावा संगै मन” सोझो बाटो मायाको हिंडेको, तिमीलाई चाहे जस्ता थुप्रै हिट गीतहरु स्रोताहरु समक्ष ल्याई सक्नु भएको गायिका आभा मुकारुङको जन्म भोजपुर दिल्पाको अन्नपुर्ण भामलामा भएको हो ।

बाबा तिर्थराज राई र आमा नरदेवी राईको जेठी छोरीको रुपमा जन्मनु भएको आभाको एक दाजु र एक बहिनी छन् । सानै उमेर देखि नै गीत-संगीतमा रुचि राख्ने आभा मुकारुङले अन्नपुर्ण मावि बाट शिक्षाको सुरुवात गर्नु भएको थियो । अन्नपुर्ण माविमै अध्ययनरत हुदा आभाले वाल दिवसको अवसरमा पहिलो पटक वालगीत गाउनु भएको थियो । बाबु-आमा दुवैजना शिक्षण पेसामा हुनुहुन्थ्यो । आभाको आमा अन्नपुर्ण माविमै शिक्षण गर्नुहुन्थ्यो भने बाबा त्यो भन्दा अलिक टाढाको स्कुलमा शिक्षण गर्नुहुन्थ्यो । त्यहीं अन्नपुर्ण माविमै अध्यायन गरिरहेको बेला जिल्लाव्यापी लोक नृत्य तथा गायन प्रतियोगितामा भाग लिएर सो विद्यालयले प्रथम स्थान हासिल गरेको थियो जसमा आभा गायन तर्फ सहभागी हुनुभएको थियो ।

त्यहींताका राष्ट्रव्यापी फाईन आर्ट प्रतियोगितामा विद्यालयको तर्फबाट पनि उहाँ सहभागी हुनुभयो । अन्नपुर्ण माविबाट एसएलसी पास गरेपश्चात सीएल भने ईटहरी बाट गर्नु भएको हो आभा मुकारुङले भने ईटहरीको संगीत साधना महाविद्यालयबाट उहाँले संगीतको औपचारिक शिक्षा सुरुवात गर्नुभएको थियो ।

त्यसैताका बिराटनगरमा भएको २०५३ सालको रेडियो नेपालको अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा सान्त्वना पुरस्कार जित्नुभयो । त्यो बेला ” घामले पनि पोल्छ मलाई जुनले पनि पोल्छ” बोलको गीत गाउनु भएको थियो । यो गीतलाई शुभ मुकारुङले शब्द रचना र पारस मुकारुङको संगीत गर्नु भएको थियो । पछि यो गीत लासमित राईको स्वरमा रेकर्ड भएको छ । यसरी अगाडि बढ्नु भएको गायिका आभा मुकारुङले “यो साल फेरी बारीभरी अजम्बरी फूलेको छ” बोलको गीत रेडीयो नेपालमा रेकर्ड गराउनु भयो । यो गीत नै आभा मुकारुङको पहिलो पटक रेकर्ड भएको गीत हो । यो गीतलाई शुभ मुकारुङले शब्द रचना र शान्तिराम राईले संगीत गरेका छन् । “पहाडको छातिभरी आँधीहुरी झेल्दै,फूलिरहने गुराँश तिम्रो जिन्दगीलाई सलाम” बोलको गीत आभाको दोस्रो रेकर्डेड गीत हो । यो गीतलाई श्याम तमोटले शब्द रचना र बुलु मुकारुङले संगीत गरेका हुन् ।

भोजपुरबाट ईटहरी हुदै काठमाडौ बसाईं सरेकी आभा मुकारुङ हालसम्म अविवाहित हुनुहुन्छ । जन्म,विवाह र मृत्यु भन्ने कुरा कसैलाई थाहा नहुने बताउनुहुन्छ आभा मुकारुङ। विवाहलाई खासै प्राथमिकतामा पनि राख्न रुचाउनुहुन्न, यो भनेको केवल संसारलाई संचालन गराउने एउटा प्रकिया मात्र हो । यसो भन्दैमा संसारकै नियम बिरुद्ध जानखोज्नु मेरो ध्यय हैन मात्र बाचुन्जेल खुसि संग बाचौ र सकेको अरुलाई पनि बचाउँ भन्नुहुन्छ आभा ।

हालसम्म ५०० सयवटा भन्दा धेरै गीतहरुमा आफ्नो स्वर रेकर्ड गराई सक्नु भएकी आभाले थुप्रै पुरस्कार र सम्मान पाएपनि स्रोता र दर्शकहरुको मायालाई नै आफ्नो अमुल्य पुरस्कार र सम्मान ठान्नुहुन्छ । वेलायत,कोरीया,हंगकंग,दुबई,कतार,बहराईन, इण्डिया लगायत धेरै देशहरुमा सांगीतिक कार्यक्रमको लागी पुगी सक्नु भएको छ आभा मुकारुङ। गीत-संगीतबाटै सामान्य जीवन जिउन सकिन्छ भन्ने उहाँको अनुभव छ । हिजोका दिनहरुमा भन्दा आजका दिनहरुमा नेपाली गीत-संगीतको क्षेत्र व्यवस्थित हुदै गएकोले अबका दिनहरुमा यो क्षेत्रमा लागेर बाँच्न सकिने बलियो आधार बन्दै गरेको उहाँको दाबि छ ।

अहिलेसम्म आफूलाई मनपर्ने गीत गाउन नसकेको बताउनुहुन्छ आभा मुकारुङ । “आजसम्म त गीत-संगीतमा संघर्षनै गरिरहेकोले राम्रो गीत गाउने प्रयत्नमा छु” भन्नु हुन्छ आभा मुकारुङ । संगीत विषयमा त्रिभुवन विश्व विद्यालय बाट डिप्लोमा, ईलाहावाद संगीता बाट सिनियर डिप्लोमा र ग्रामिण विकासमा स्नाकोतर पुरा गर्नु भएको छ आभा मुकारुङले । सांस्कृतिक गीतहरु पनि गाउन रुचाउने गायिका आभाले किरात राई चाम्लिङ्ग,बान्तावा,कुलुङ्ग र वाम्वुले भाषाका साथै अन्य भाषामा थारु, मैथिली, गुरुङ भाषाका गीतहरुमा पनि आवाज दिने अवसर पाउनु भएको छ । “भाकल” “आभा” “सौम्य” गीति एल्बम बजारमा ल्याई सक्नु भएको आभाले आफ्नो चौथो एल्बम “बहाब” ल्याउने तयारीमा हुनुहुन्छ । गायिका आभा मुकारुङ गायिका मात्रै हैन, संगीतकार पनि हुनुहुन्छ । उहाँले डेढ दर्जन भन्दा बढि गीतहरुमा संगीत गरिसक्नु भएको छ ।

आभा मुकारुङको आफ्नो जिवनमा गीत गाएर पाएको पहिलो पारिश्रमिक १०० रुपैयाँ थियो । जो रेडियो नेपालमा गीत गायबापत १०० रुपैयाँ पाउनु भएको थियो । त्यो पहिलो पटक पाएको पारिश्रमिकाले गीत लेख्ने डायरी किन्नु भएको थियो । १०० रुपैयाँ देखि २०,००० सम्म गीत गाएबापत पारिश्रमिक पाएको उहाँको अनुभव छ । आधुनिक, लोक,पप,भजन सबै विधाको गीतहरु गाईसकेकी आभा,नेपाली गीत-संगीतमै निरन्तर लागी रहने बताउनु हुन्छ ।

सानो देखि विद्यालयको विभिन्न कार्यक्रमहरुमा भाग लिने भएकोले त्यसैताका,२०४६ सालको प्रजातन्त्र पश्चात हाम्रो जिल्लामा पनि आमसभा, गोष्ठी, सांस्कृतिक कार्यक्रमहरु थुप्रै मात्रामा हुन्थें । ७ कक्षा पढ्दै गर्दाको समय जिल्लाव्यापी रुपमा यस्तैकार्यक्रम, सांस्कृतिक कार्यक्रम सहितको आमसभाको अभियानमा मा पनि सामेल भएकी थिएँ । धेरैजसो कलाकार दाजु-दिदीहरु केन्द्रबाट आउनु भएको थियो । केही जिल्लाको क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो र केही हामी विद्यालय स्तरका थियौं । संयोगबश त्यस टोलीमा मा कान्छो कलाकार थिएँ । जसले गर्दा सबैको प्यारो हुन पुगे । तर पनि त्यसको फाइदा नउठाई मा आफ्नो लुगा भएको झोला आफै बोक्थे र संग संगै ठुल-ठुला दाई-दिदीहरु संगै हिड्थे । यो एक महिनाको अभियान थियो भोजपुर जिल्लाको विभिन्न गाउँको लागी । पहाडी भेग, त्यहाँको बाटो कहिले भिर, कहिले झरीमा रुझ्दै चिप्लो रातो माटोको उकालो लठ्ठी र खुट्टाको औला गाडेर हिड्नु पर्ने अवस्था, मध्यरात पेट्रोल मेक्स र राँकोको उज्यालोमा कार्यक्रम सकेर सुत्नलाई दुई घन्टा हिडेर फर्किनु पर्ने हुन्थ्यो भने त्यस्तै रमाईला तथा उटपट्याङ्ग क्षणहरु पनि छन् जुन अहिले सम्झदा पनि रमाईला अनुभुती गर्नुहुन्छ आभा ।

पारिवारिक माहौलले पनि आफ्नो सांगीतिक अभिरुचि बढाउने काम भएकोले अझ आफूलाई यो क्षेत्रमा काम गर्न सजिलो भएको बताउनु हुन्छ आभा । यो क्षेत्रमा निरन्तर लागीरहनको लागी आफुमा अभिरुचि मात्रै भएर हुदैन त्यसको लागी पारिवारीक तथा आफू बाँचेको समाजको सपोर्टको एकदमै ठूलो भूमिका हुन्छ भन्नुहुन्छ आभा । हाम्रो समाजमा गीत-संगीत कला भनेको दोस्रो प्राथमिकतामा मात्रै पर्छ,जबकी हाम्रो समाजका अधिकांश मान्छेहरु खाने बस्ने जस्ता आधारभूत आवस्यकताकै पुर्तिकै लागी समय पाईरहेका हुदैनन् । यस्तो अवस्थाबाट उठेर बिस्तारै गीत-संगीतको महत्वलाई आत्मसात गरिरहेको अवस्था छ । त्यसैले अब आउने गीत-संगीतमा लाग्न चाहने र लागी रहेका हामी सबै गीत-संगीत कलाकर्मीहरुले यसको मर्मलाई अझ गहन रुपमा लिनुपर्ने बताउनुहुन्छ । जसले गर्दा अबको समय र समाजले गीत-संगीतलाई अझ धेरै महत्व देओस भन्नुहुन्छ आभा ।

प्रस्तुति :- ईन्द्र जिजीबिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *