‘खोटाङ प्रतिभा–२०८०’ मा गायनतर्फ आश्विन र नृत्यतर्फ कविता विजेता बने

३० साउन, काठमाडौँ : खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत ९यूके०ले संयुक्त रुपमा काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा भएको ‘खोटाङ प्रतिभा–२०८०’ को फाइनल प्रतियोगितामा नौ–नौ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता विजेता बनेका छन्।

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सु–संस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन् । भने नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएका छन् ।

खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रुपकुमार राईका अनुसार प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद रु दुई लाख दुई हजार, रु एक लाख एक हजार र रु ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र साथै, गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने विभिन्न कार्यक्रममा समेत सहभागी गराइने र बाँकी १४ प्रतिभालाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गरिएको छ ।

प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरीएको यस कार्यक्रममा उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *