किम जोङ नामको हत्याको छानबिन, भियतनामी युवती पक्राउ

फागुन ४ मलेशिया-मलेसियाली प्रहरीले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको हत्यामा संलग्नको खोजी तीब्र पारेको छ। हत्याको वास्तविक रहस्य सार्वजनिक नभएको र विश्वभरिबाट चासोका साथ हेरिएको घटनालाई सुरक्षा अधिकारीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छन्।

विमानस्थलमा विष खुवाएर नामको हत्या गरेको अभियोगमा मलेसिया प्रहरीले एक महिला पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। पक्राउ महिलासँग भियतनामको यात्रा कागजात भेटिएको छ। नामको हत्यामा उत्तर कोरियाली सरकारै संलग्न हुनसक्ने अनुमान अमेरिका तथा दक्षिण कोरियाले गरेका छन्। नामको ४५ वर्षको उमेरमा सोमबार मलेसियामा हत्या भएको थियो। उनी कोरियाका पूर्व शासक किम जोङ इलका साउतेनी आमापट्टिका जेठा छोरा हुन्।
किम जोङ उन सर्वोच्च नेता बन्नु अघि एक बेला उनलाई शासनको उत्तराधिकारीको रुपमा पनि हेरिएको थियो। सन् २००१ मा उनी नक्कली राहदानीमा जापान प्रवेश गर्ने प्रयास गरेका थिए। पक्राउ परेपछि उनले जापानी अधिकारीहरुलाई आफू टोकियोको डिज्नेल्यान्ड घुम्न जान लागेको बताएका थिए। सो घटनापछि उनका पिताले उनलाई उत्तराधिकारीको सूचिबाट हटाएको धेरैको विश्वास छ।

अधिकांश समय चीनको जुवा स्वर्ग मकाओमा बस्दै आएका उनी चिनियाँ अर्थिक क्रान्तिबाट प्रभावित थिए। सन् २०११ मा उनलाई उदृत गर्दै जापानी मिडियाले उनी वंश सत्ताविरुद्ध भएको जनाएको थियो। उत्तर कोरियाको शासकीय शैली पुरानो भएको भन्दै उनले चीनको जस्तो आर्थिक नीति लागू गर्नुपर्ने धारणा राख्दै आएका थिए।

सोमबार मकाउ जानका लागि नाम मलेसियाको बजेट टर्मिनलमा विमान पर्खिरहेका थिए। त्यही बेला एक जनाले पछाडिपट्टिबाट समाते। त्यस लगत्तै उनी बेहोस भएर लडेका थिए। विमानस्थल ट्रान्जिटमा मान्छे ढलेको देखेपछि अन्य यात्रुले प्रहरी डेस्कमा खबर गरेका थिए। नाम बेइजिङको संरक्षमा रहेको दक्षिण कोरियाको विश्वास छ। उनकी श्रीमती समेत चीन नियन्त्रित मकाउकै हुन्। नामका छोरा बेइजिङ बस्दै आएका छन्।

यसअघि पनि उनलाई बारम्बार हत्या प्रयास भएका थिए। सन् २०१२ मा दक्षिण कोरियामा पक्राउ परेका उत्तर कोरियाली जासुसले नामलाई हत्या गर्न संगठित रुपमा योजना बनाएको खुलेको थियो।

मलेसियाली प्रहरीले विमानस्थलको सिसिटिभी फुटेज हेरेर महिला पक्राउ गरेको हो। मलेसियाली मिडियाले सार्वजनिक गरेकी महिलाले अगाडिपट्टि ‘लोल’ प्रिन्ट भएको सेतो टिसर्ट लगाएकी छिन्। प्रहरीले उनीसँग भियतनामी यात्रा कागजात फेला पारेको छ। प्रहरीका अनुसार सन् १९९८ मे महिना जन्ममिति रहेकी ती महिलाको वास्तविक नाम डोन थाइ ह्युङ भएको बताइएको छ। उनी भियतनामी नागरिक हुन्। प्रहरीले सिसिटिभी फुटेज जम्मा पारी सबै विदेशी नागरिकबारे छानविन गरिरहेको जनाएको छ।

नामको हत्या पछाडि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको भूमिका रहेको दक्षिण कोरिया बताउँदै आएको छ। ‘यो हत्याका लागि किम जोङ उनको हात रहेको छ। उनले नै हत्याका लागि निर्देशन दिएको हुनुपर्छ। यसअघि पनि नामलाई मार्ने प्रयास गरिएको थियो’, एक जना दक्षिण कोरियाली सांसदले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *