काठमाडौं–१६ का वडाध्यक्ष रिजालको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

२१ भदौ, काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं निर्वाचन क्षेत्र नं ७ का कांग्रेस क्षेत्रीय सभापति तथा काठमाडौं महानगरपालिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आज आफ्नो शोक सन्देशमा उहाँले नेपाली कांग्रेसको संस्थागत विकास र लोकतान्त्रिक आन्दोलनमा रिजालको योगदानको स्मरण गर्नुभएको छ । दिवंगत जनप्रतिनिधिप्रति श्रद्धाञ्जली अर्पण गर्दै देउवाले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । आज बिहान ७ः३० बजे धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएका रिजालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आज दिउँसो १२ बजेसम्म स्थानीय राष्ट्रिय सभा हलमा राखिने भएको छ । त्यसपछि शवलाई पशुपति आर्यघाट लगिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आज दिउँसो २ः३० बजे अन्तिम संस्कार गर्ने कार्यक्रम छ । विसं २०२७ मा जन्मिएका रिजालले २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा संलग्नताका कारण प्रहरी हिरासतमा समय बिताएका थिए । उनी काठमाडौं महानगरपालिका अन्तर्गतको वडा नं १६ बाट दुई पटक कांग्रेस क्षेत्रीय सभापति र वडाध्यक्ष निर्वाचित भएका थिए । सरस्वती क्याम्पसमा अध्ययनरत रिजालले नेपाल विद्यार्थी युनियनमा आबद्ध भएर आफ्नो राजनीतिक करियरको सुरुवात गरेका थिए भने उनी विभिन्न मानवअधिकार संगठनमा पनि आबद्ध भएका थिए । उनको निधनले कांग्रेसले बहुमुखी र समर्पित सदस्य गुमाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *