कलाकार विक्रम परियारको हत्यारा सार्वजनिक, दुई युवती सहित चार युवा पक्राउ

दमौली ४ जेठ- कलाकार विक्रम परियारको हत्या गर्ने हत्याराहरुलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका १ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार हत्या भएको थियो । हत्यागरी फरार भएका छजना युवालाई प्रहरीले पक्राउ गरी बुधबार दमौलीमा सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा व्यास नपा ३ देउराली नगरकी १८ वर्षीया उषा थापा, सोही ठाउँकी १६ वर्षीया अन्जली राना मगर, व्यास १ हाईस्कुलटार बस्ने २० वर्षीया कान्छी भन्ने रोशनचन्द ठकुरी, सोही ठाउँ बस्ने १७ वर्षीय तु्म्बाके भन्ने मधुसूदन नेपाली, १७ वर्षीय रन्जन ठकुरी र १६ वर्षीय प्रेम आले रहेको प्रहरीले बताएको छ ।

स्थानीय तहको निर्वाचनमा जलदेवी केन्द्रबाट मतदान गरी व्यास नपा–१ भादगाउँको छाला फ्याक्ट्रीनजिकै घुम्न निस्केका परियारलाई उक्त समूहले अन्धाधुन्द ढुङ्गा प्रहार गरी हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।

घटनालगत्तै ती दुई युवती र अन्जली रानालाई देउराली नगरबाटै र फरार अरू तीन मधुसूदन, रन्जन र प्रेमलाई मङ्गलबार राति प्रहरीले घेरा हाली झापुटारबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौंबाट मतदान गर्न आएका सोही ठाउँका ४३ वर्षीय देवीनारायण श्रेष्ठलाई पछाडि राखेर बा २७ प ४९७५ नं को मोटरसाइकलमा उनी सेती नदी किनारामा घुम्न निस्केका थिए । छाला फ्याक्ट्रीनजिकै बसिरहेका ती दुई युवती र चारजना युवकलाई फोटो खिचीदिन अनुरोध गर्दा एक्कासी विवाद भएको र उक्त समूहले ढुङ्गामुढा प्रहार गरी विक्रमको हत्या गरेको प्रहरीले जनाएको छ । सोही समूहको ढुङ्गा प्रहारबाट देवीनारायण श्रेष्ठ घाइते भएको र उनको पोखराको मेट्रो सिटीमा उपचार गरी घर फर्किसकेका छन् ।

हत्यामा संलग्नमध्ये प्रेम आले यसअघिको हत्याका घटनामा पनि प्रहरीले पक्राउ गरेको र पछि नाबालक भन्दै छोडेको थियो । पक्राउ परेका व्यक्तिविरुद्ध तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *