करेन्ट लागेर मृत्युु भएकी बालिकाको परिवारलाई नेपाल तरुण दल सिन्धुपाल्चोकको आर्थिक सहयोग ।

जुगल गाउँपालिका–३ गुम्बा गाउँमा करेन्ट लागेर मृत्युु भएकी बालिकाको परिवारलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ । दलका सिन्धुपाल्चोक अध्यक्ष सञ्जय लामाले पीडित परिवारलाई नगद एक लाख पाँच हजार प्रदान गरेका हुन् ।

बालिकाको बुबा मिक्मारदोर्जे लामालाई दलका अध्यक्ष लामा, उपाध्यक्ष जितबहादुर थिङ र सचिव निशान लामासहितको टिमले किरिया खर्चस्वरुप सहयोग रकम हस्तान्तरण गरे । पीडित परिवारको आर्थिक अवस्था कमजोर छ । बिकट गाउँमा सामान्य किसानी गरेर परिवार पाल्दै आएका मिक्मारलाई पढ्दै गरेकी छोरीको मृत्युले ठूलो बज्रपात भयो ।

१४ वर्षीया बालिका नोर्जीवाङ्मु लामाको १५ फागुनमा आलुबारीमा काम गर्ने क्रममा जमिनमा यत्रतत्र छरिएका नाँगो तार छुँदा मृत्यु भएको थियो । बालिकाको शव सदरमुकाम चौतारास्थित अस्पतालको पोष्टमोर्टन कक्षमा एक साता राखिएको थियो । क्षतिपुर्तिको माग गर्दै परिवार र स्थानीयले जिल्ला प्रशासन र विद्युत प्राधिकरण चौतारा वितरण केन्द्रमा धर्नासमेत दिएका थिए । तर, हालसम्म प्राधिकरणले पीडितपक्षलाई कुनैपनि क्षतिपुर्ति दिएको छैन ।

निर्माणाधीन ३५ मेगावाटको सीता हाईड्रोपावर कम्पनीको ड्याम र पावरहाउसको काम गर्न नांगो तारबाट विद्युत लगेको स्थानीयको आरोप छ । कम्पनीको काम गर्न खेतबारीबाट नांगो तार लगेकोले दुर्घटना भएको पीडित पक्षको पनि भनाइँ छ । बालिकाको मृत्युपछि आक्रोशित स्थानीयले गाउँको छेवैमा रहेको पावरहाउसमा तोडफोड गरेका छन् । तर, हाइड्रोपावर कम्पनीले आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।

विद्युत अवरुद्ध भएको बेला जडान गर्न ट्रान्समिटर पुगेका विद्युत प्राधिकरणमा कार्यरत सुर्खेत जिल्ला निवासी सरोज थारुको करेन्ट लागेर ६ फागुनमा मृत्यु भएको थियो । लगत्तै १५ फागुनमा बालिकाको मृत्यु भएको थियो । तर, कम्पनीले बालिकाको मृत्यु हुनुमा आफ्नो दोष नभएको दाबी गरेको छ । जुगल– ३ का वडाध्यक्ष लक्ष्मण लामा दोङले पीडित पक्ष विपन्न रहेको तर हालसम्म सरोकारवाला निकायले कुनैपनि सहायता नदिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *