करिश्मा मानन्धरले कक्षा ९ बाट आफ्नो अध्ययनलाई अगाडि बढाइन्

काठमाडौ २० भदौ – चर्चित अभिनेत्री तथा नयाँ शक्ति नेपालकी नेत्री करिष्मा मानन्धरले विद्यालय भर्ना गरेकी छिन् । गत वर्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सांसद समेत रहेकी गीता राणाको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल (कक्षा आठ) पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् । यसवर्ष भने उनी ग्यालेक्सीमा नभई मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन् ।

नयाँ शक्ति पार्टी नेपालले सोमबार सीमित सञ्चारकर्मीसँग गरेको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा करिष्माले आफूले विद्यालय अध्ययन गर्न थालेको खुलासा गरेकी हुन् । उनले भनिन्, ‘गत वर्ष मैले गीता म्या’मको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल दिएको हो । यो वर्ष मैतीदेबीको त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएर पढ्दै आएको छु ।’

उनले ७ कक्षा पढ्दै गर्दा सिनेमा क्षेत्रमा सक्रिय भएको र सफलताको शिखरमा समेत पुगेको भए पनि औपचारिक शिक्षाको अभाव भने खड्किरहेकाले सोको पूरा गर्न विद्यालयमा भर्ना भएको बताइन् ।

‘सिनेमा त मैले पिएचडी नै गरेँ भने पनि हुन्छ, तर औपचारिक शिक्षा भने भएन, त्यही अभाव पूरा गर्न अहिले अध्ययन थालेको हुँ’, उनको भनाइ थियो ।

सो क्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आर्यघाटमा नपुगेसम्म पढ्ने र सिक्ने क्रम नसकिने भन्दै करिष्माले अध्ययन थालेकोमा खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *