काठमाडौं । श्रीलंका, बंगलादेश र अफगानिस्तानले प्रस्तावित ‘हाइब्रिड मोडेल’ अस्वीकार गरेपछि आयोजक पाकिस्तानले सेप्टेम्बरमा हुने एशिया कप क्रिकेट प्रतियोगिता बहिष्कार गर्न सक्छ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख नजम सेठीले प्रस्ताव गरेको हाइब्रिड मोडल अनुसार पाकिस्तानले एसिया कपका तीन वा चार खेल घरेलु मैदानमा खेलाउने भनिएको थियो भने भारतका खेल तटस्थ स्थानमा खेल्न सकिने बताइएको थियो।
सुरक्षा चिन्ताका कारण भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि यो विचार उठेको थियो। तर, अहिले श्रीलंका, बंगलादेश र अफगानिस्तानले पाकिस्तान बाहिर प्रतियोगिता आयोजना गर्न भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई समर्थन गरेको स्पष्ट भएको छ।
यस विषयमा जानकार स्रोतले समाचार एजेन्सी पीटीआईलाई भन्यो, “अब एसियाली क्रिकेट काउन्सिल (एसीसी) को कार्यकारी बोर्डका सदस्यहरूले भर्चुअल वा सदस्यहरूको उपस्थितिमा भेट्ने औपचारिकता मात्र हो।”
“तर पीसीबीलाई अब थाहा छ कि श्रीलंका, बंगलादेश र अफगानिस्तानले एशिया कपको लागि प्रस्तावित हाइब्रिड मोडेललाई समर्थन गर्दैनन्,” उनले भने।
