एनआरएनए युकेका अध्यक्षमा हिराधन राइको उम्मेदवारी (प्रतिबद्धता पत्र सहित)

वेलायत १ साउन
शान्तीराज राई-एनआरएनए युकेका उपाध्यक्ष हिराधन राइलेले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। वेलायतस्थित भेटघाट रेष्टुरेन्टमा वेलायतमा रहेका प्रमुख नेपाली संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी माझ उनले उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए युकेको अधिवेसन ९ सेप्टेम्बरमा हुदै छ ।
हिराधन राईको प्रतिबद्धता पत्र यस्तो रहेको छ ।

प्रतिबद्धता–पत्र
‘मेरो प्रतिबद्धता विविधतामा एकता एनआरएन यूकेमा मेरो प्रतिबद्धता’
घरदेशबाट परदेशमा आइ विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीको भावना, चाहना र सपनाको प्रतिबिम्बित साझा संस्था हो– गैरआवासीय नेपाली संघ (एनआरएन) I यो एनआरएनले आफ्नो अभियान सञ्चालन गरेको १३ बर्षभन्दा बढी भइसक्यो भने हामी अहिले ७ औं महाधिवेशनको संघारमा छौं । विविध धर्म, संस्कृति, भाषा, पेशा, व्यवसाय, भूगोल र वर्गको अनेकतामा एकता एनआरएनको पहिचान हो ।

मातृभूमिको सेवा गर्ने पवित्र उद्देश्यले नेपालीको हकहितको आवाजलाई संस्थागत गर्दै बुलन्द पार्ने यो महान् अभियानमा संलग्न मेरा आदरणीय अग्रज गुरु हरुको कार्यशैलीबाट धेरै कुरा सिक्ने र पे्ररणा लिने सुनौलो अवसर प्राप्त भयो । त्यस्तै आफू पनि विभिन्न कोणबाट यस यात्रामा अनब्रत खटिने मौका पाएकै छु । एनआरएनको यो ओरोहअवरोहमा धेरै कुरा सिक्न पाएँ । ती भोगाइ र सुझावलाई एउटा मार्ग निर्देशक मान्दै, एनआरएनलाई सबै नेपालीको साझा र आत्मीय संस्था बनाउनका लागि अब नयाँ शिराबाट आगाडि बड्नु पर्छ भन्ने मेरो निष्कर्ष हो । एनआरएनको उद्देश्यलाई प्राथमिकतामा राख्दै अब हुने एनआरएन यूकेको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रतिबद्धता सार्वजनिक गर्न चाहन्छु । मेरो घोषणा पत्रको मर्म नै हरेक नेपालीबीच एकता हो । हामीमाँझ विविधतामा एकता छ, जसलाई म एकताको संकेत भनेर सम्बोधन गर्न चाहन्छु ।
एकता

– आफ्नो विदेश यात्रा भनौं वा आफ्नो जीवनको थालनी भनेको गोर्खा पल्टनबाट भएको हो । त्यसैले मेरो जीवन गोरखा आन्दोलन वा गोर्खासँगको मुद्दाबाट अलग हुनु भनेको मेरो जीवन नै नहुनु सरह ठान्दछु । तसर्थ, गोर्खाको जीत नै मेरो जीत हो । गोर्खाको समस्या समाधान नहुञ्जेल आफू गोखासँग सम्बन्धित कुनै पनि मुद्दामा सहकार्य गरी अगाडि बढ्न तयार छु ।

–नेपाल हाउस यूके निर्माण गर्ने कार्यलाई विशेष प्राथमिकता दिँदै लाप्राक बस्ती निर्माण र एनआरएन हाउस निर्माण अभियानमा विशेष सहयोग गर्नेछु ।
राष्ट्रियता

– ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हाम्रो मूल भावना समेटिएको ‘गैरआवासीय नेपाली नागरिकता’ राजनीतिबाहेक सबै अधिकार पाउने नागरिकता हामीले संविधानबाट प्राप्त गर्न सफल भएका छौं । तर अहिलेको अवस्थामा प्राप्त उपलब्धि कार्यान्यन गराउनु उत्तिकै चुनौतिपूर्ण छ । उपलब्धिको रक्षा गर्दै बाँकी अधिकारका लागि एनआरएनले विशेष भूमिका खेल्नुपर्ने छ । यस अभियानलाई बिशेष रुपमा अगाडी बढाउने योजनाको थालनी गर्नेछु ।
मेरो कार्यकालमा यी कुरा हुनेछ–

– एनआरएनका सदस्यलाई कार्ड बनाइ बिभिन्न पसल, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक छुटको लागि गरिएको अभियानलाई प्राथमिकताको साथ अगाडी बढाउने छु ।

– एनआरएन कोषको व्यवस्था गरी पञ्जीकृत सदस्यलाई सम्भव भएसम्म आपतकालमा सहयोगको व्यवस्था गर्ने ।
– स्वास्थ्य, शिक्षा, ट्राफिक ब्यबस्थापन, कन्स्ट्रक्सन, फूड तथा अन्य थुप्रै विधाका ज्ञाताको सुझाव र सल्लाहअनुसार दुताबाससँग समन्वय गरी नेपालमा विशेष स्किल ट्रान्सफेयर कार्यक्रम सञ्चालनमा ल्याउने ।

– बेलायतमा रहेका बौद्धिकवर्गलाई एनआरएन यूकेप्रति आकर्षण गर्ने कार्यक्रम ल्याउने छु । उहाँहरुको सुझाव सल्लाहले एनआरएनलाई अगाडि बढाउने वातावरण सिर्जना गर्नेछु ।

– बेलायतस्थित सबै संघ-संस्थाहरुसंग समन्वय गरेर कार्य गर्ने ब्यबस्थाको रचनात्मक ढांचा तयार गरि सबै संस्थाको अपनत्व एन आर एन मा दिलाउने गरि संस्थाको बिकाश गर्न बिसेष भूमिका खेल्ने छु I

-बेलायत बासि नेपाली संग एन आर एन युके भन्ने भन्ने बिसेष कार्यक्रमको थालनी गरि एन आर एन युकेमा धेरै भन्दा धेरै नेपालीहरुको सहभागिता गराई सबै नेपालीहरुमा मेरो एन आर एन हो भन्ने आत्मीयताको बिकाश गर्न बिसेष भूमिका खेल्ने छु I

– एनआरएन युकेको सम्पूर्ण गतिविधिलाई जनमानसमा पारदर्शी ढंगले बाहिर ल्याउने छु ।

– नेपाली बालबालिकाको आवश्यकता र रुचिलाई ध्यानमा राखी अभिभावकले आफ्नो बालबालिकाको लागि नेपाली भाषा कक्षा, संगीत र खेलकुदका कार्यक्रम चलाउदै आउनु भएको छ । यसलाई अझ व्यवस्थित गर्नको लागि एनआरएन यूकेले विशेष च्यारिटी कार्यक्रम तथा यूके सरकारको स्थानीय सरकारसँग समन्वय गरी आवश्यक रकमको व्यवस्था गर्नुको साथै, नेपाली साना बालबालिकालाई राष्ट्रिय गीतमा भनिएजस्तै एउटै फुलको मालामा गाँस्ने प्रयत्न गर्नेछु ।

-युवा भनेको भनेको भोलिको हाम्रो भबिस्य निर्धारक हुन् I हरेक युवाको प्रगति र विकास संग हाम्रो समाजजोडिएको छ I मेरो कार्यकालमा अब नेपाली युवाहरुलाई लक्षित गरि बिसेष प्रकारको युवाससक्तिकरण तथा सिपमुलक अभियानको थालनी गरिनेछ I तेस्ता अभियान भन्नाले युवा हरुलाई लक्षित तालिम, गोस्टी तथा सेमिनार आयोजना गरि युवाहरुलाई माथिल्लो तहको काम तथा व्यापारमा प्रतक्ष्य फाइदा हुने खालको सरल र अर्थ पूर्ण कार्यक्रम रहनेछ I

– एनआरएन समूदायको नेपालमा लगानी भित्राउन तथा सुरक्षित लगानीको ग्यारेन्टी गर्न पहल गर्ने छु ।

– गैरआवासीय नेपाली संघको काठमाण्डौंस्थित एनआरएन भवन, र्लापाक, शंखमुल लगायतका परियोजनालाई मूहर्तरुप दिन आवश्य पहल गर्ने छु ।

– भूतपूर्व गोर्खा लगायत गैरआवासीय नेपालीहरुको पूर्णअधिकार सहितको नागरिकताको निरन्तरताको लागि बिषेश अभियान संचालन गर्ने छु ।
जीवनी
नेपालको खोटाङ बासपानीका समाजसेवी मणिप्रसाद राईको साइँला छोराको रुपमा मेरो जन्म भएको हो । गाउँकै विद्यालयबाट वि.सं. २०४२ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएँ । तत्कालीन परिवेश र परम्पराअनुसार वि.सं. २०४४ (सन् १९८७) सालमा म ब्रिटिश आर्मीमा भर्ना भएँ । हङकङमा नै सैन्य तालिम सकेँ, १८ बर्षसम्म सैनिक सेवाका क्रममा मैले विभिन्न तालिमसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकसमेत प्राप्त गरेँ ।

ब्रिटिश आर्मीमा सेवारत रहँदा १० बर्ष पिटिआइका रुपमा काम गरे । त्यस अवधिमा अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय शान्ति सेनाको प्रशिक्षकका रुपमा सेवा गरेँ । संयुक्त राष्ट्रसंघीय पदक तथा फरक राष्ट्रका सुरक्षाकर्मीसँगको अनुभवलाई अन्य क्षेत्रमा समेत मैले सदुपयोग गरिरहेको छु । १८ बर्ष लामो सैनिक सेवामा रहँदा तेक्वान्दो मुख्य प्रशिक्षकका रुपमा समेत मैले धेरै समय बिताएँ । प्रशस्त प्रशिक्षार्थी उत्पादन गरेर मैले जीवनमा अनुशासन र नेतृत्व विकासमा धेरै अध्ययन र अनुभव हासिल गरेको छु ।

अध्ययनलाई जीवनको अभिन्न अंग सम्झी हालै मैले Anglia Rusk।n University बाट व्यवस्थापन विषयमा स्नातक उपाधि लिएको छु । यसैगरी सैनिक सेवालाई रोजीरोटीको रुपमा मात्रै होइन, एउटा अवसरको रुपमा लिँदै हङकङ, ब्रनाई, बेलिज, सियरालियोन, कोसोभो, साइप्रस, जर्मनी, केन्या, अमेरिका, क्यानाडा, फोकल्याण्ड, मेसोडोनिया, इराक, अफगानिस्तान, स्पेन, फ्रान्स, अष्ट्रेलियालगायत दुई दर्जनभन्दा बढी राष्ट्रको भ्रमण गरिसकेको छु ।

जीवनमा धेरै आरोह–अवरोह भोग्दै अगाडी बढ्ने क्रममा मैले सैनिक सेवाबाट अवकाशपश्चात जीवनलाई चार क्षेत्रमा केन्द्रित गरेर अगाडी बढाइरहेको छु ।

१. व्यवसायिक जीवन
व्यवसायिक रुपमा प्राप्त गर्ने सफलता र आत्मविश्वासले मानिसले भावी कार्य दिशा तय गर्दछ । त्यसैलाई मध्यनजर राखेर मैले पनि विभिन्न पेशा व्यवसायमा हात हाले । सैनिक सेवाबाट अवकाशपश्चात बेलायतमै व्यवसाय सुरु गर्दा ब्रिटिशसँग प्रतिस्पर्धा गर्दै नाइट क्लब, बार, रेस्टुरेन्ट व्यवसाय हुँदै ‘इ एन्ड डब्लु’ कम्पनिको प्रवन्ध निर्देशकको रुपमा काम गरेँ । गोर्खा सेभिङ फाइनान्सको संस्थापक शेयर होल्डर हुँ । त्यहीबाट मैले आर्थिक क्षेत्रमा व्यावसायिक जीवन अगाडी बढाएँ । व्यक्तिगत प्रगतिसँगै जन्मभूमिप्रति पनि आफ्नो उत्तरदायित्व छ भन्ने कुरालाई महशुस गरेर नेपालमा कृषि, पशुपालन, हाउजिङ्गलगायतका क्षेत्रमा समेत लगानी गरेको छु ।

२. सामाजिक जीवन
समाजसेवी बुवाको पथलाई पछ्याउदै सुरुदेखि नै म पनि सामाजिक क्षेत्रमा सक्रिय थिएँ र अहिले पनि त्यत्तिकै सक्रिय छु । बेलायत तथा जन्मभूमि नेपालमा समेत सेवा पु¥याउने प्रयास जारी छ । स्थानीय ग्रेटर रसमोर कम्युनिटीको संस्थापक खेलकुद प्रबन्धकको रुपमा मेरो संलग्नता थियोे । अहिले समाजसेवाको आयामलाई अझ व्यापक बनाउन लागिरहेको छु ।
किराँत राई यायोक्खा, बेलायतको संस्थापक सदस्य, खोटाङ समाज युके, मिशन टु हेल्प नेपाललगायतका संस्थामा सक्रिय रहँदा नेपालमा भूकम्प गएका बेला तत्कालै बेलायतमा नेपाल भूकम्प आपतकालीन अभियानको संयोजक भइ सहयोग रकम तथा सामाग्री संकलन गर्दै नेपाल पठाउने काम गरें ।

झन्डै दश हजार केजी सहयोग सामाग्री कार्गोमार्फत नेपाल पठाउनुका साथै स्थलगत रुपमै रोजिहिरा फाउन्डेशनका सचिव श्रीमती रोजिना प्रधान राईसमेतको संलग्नतामा सिन्धुपाल्चोकको दुर्गम भेग इचोक क्षेत्रमा पुगी सामाग्रीहरु वितरण गरेँ । चेञ्ज फर हेल्थ नेपालसँग मिलेर संयुक्त रुपमा स्वास्थ्य सेवा शिविर सञ्चालन, राहत वितरण, एनआरएन यूके, रोजिहिरा फाउन्डेशन, नेपाल भूकम्प आपतकालीन अभियान यूकेमा रहेर नेतृत्व गरेको क्षण सम्झदा आफूलाई गौरव लाग्छ ।

बुवा मणिप्रसाद राईले बासपानी माध्यामिक विद्यालयलाई निःशुल्क प्रदान गर्नुभएको जग्गामा हाल स्कुल सञ्चालन भएको छ । सर्वसाधारणलाई शिक्षाप्रति अझ आकर्षित गर्न रोजिहिरा फाउन्डेशन स्थापना गरी गरिब असहायहरुको लागि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छु । बालबालिकालाई आवश्यक सहयोग, मुस्कान समाज सेवामार्फत बाढीपीडितलाइ सहयोग रकम उपलब्ध गराएको छु ।

मिशन टु हेल्प नेपाल तथा नर्भिक अस्पतालसँग सहकार्य गरी खोटाङको बाक्सिला क्षेत्रका बिभिन्न १५ गाबिसका जनताका स्वास्थ्य जाँच एबम उपचारका लागि बृहत स्वास्थ्य शिविरको संचालन कार्यको संयोजन समेत गरेको थिएँ । नेपालमा भएको बागमती सरसफाई अभियानमा पनि स्थलगत रुपमै सक्रिय सहभागी भएँ ।
नेपाल र ब्रिटेनबीच भएको मैत्रीपूर्ण क्रिकेट खेलको भब्य रुपमा सफल पर्न एनआरएनको तर्फबाट संयोजकको भूमिका निभाएँ । खोटाङ सेवा समाज यूकेको पहल र मेरो संलग्नातामा जिल्लामा ७ वटा एम्बुलेन्स पु¥याउन सफल भएका छौं ।

३. गोर्खा अभियान
गोर्खा हुनु आफैमा गौरवानुभूति छ नै, साथै आफै गोर्खा हुनुको नाताले पनि गोर्खाको हकहितका लागि सक्रिय रहनु मेरो जिम्मेवारी हो । तसर्थ सन् १९९४ देखि १९९८ सम्म तत्कालीन गेसो अभियानमा सक्रिय भइ गोर्खाको हकहितको लागि लागि रहेँ । तत्पश्चात सन् २००२ देखि बिजीडब्लुएसको संस्थापक सदस्यको रुपमा सुरुदेखि नै सक्रिय छु । अहिले बेलायतमा गोर्खाको हकहितको लागि भएको सत्याग्रह अभियानमा समेत सक्रिय सहभागिता जनाइरहेकै छु ।

४. एनआरएन अभियान
एनआरएनको स्थापनाकालदेखि सदस्य छु । त्यही बेलादेखि एनआरएन अभियानमा सक्रिय सहभागी बन्दै वर्तमान एनआरएन यूके कार्यसमितिको उपसभापति छु । गोर्खाको जायज मागमा एनआरएनलाई सहभागी गराउने कुरामा मेरो सदैब सक्रिय भूमिका रह्यो भन्ने ठान्छु । एकपटकको नेपाली सधैको नेपाली भन्ने मूल नारालाई आत्मा साथ गर्दै नागरिकताको मुद्दालाई निरन्तर अगाडी बढाउने विषयमा आफ्नो विशेष भूमिका रहनेछ

धन्यबाद ।
हिराधन राई, अध्यक्षको प्रत्यासी, एनआरएनए यूके

Leave a Reply

Your email address will not be published. Required fields are marked *