एनआरएनएको आगामी नेतृत्वका लागि कुल आचार्यको घोषणासभा आज

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि अध्यक्षका आकांक्षी रहेका वर्तमान सल्लाहकार तथा पुर्व उपाध्यक्ष कुल आचार्यले आज (आइतवार) अध्यक्ष पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

आचार्यले आइतबार होटल याक एण्ड यति, दरबारमार्ग काठमाडौंमा दिनको १ः०० बजे कार्यक्रम आयोजना गरेर आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

अध्यक्षका आकांक्षीहरुमध्येका सबैभन्दा बलियो उम्मेदवारका रुपमा रहेका आचार्यको पुर्खौली थलो नेपालको पश्चिम पर्वत जिल्ला हो ।

आफूलाई धवलागिरी क्षेत्रको भनेर चिनाउन रुचाउने आचार्यको गैरआवासीय नेपाली संघमा लामो संलग्नता रहेको छ । संघको राष्ट्रिय समन्वय परिषद बेलायतको बिभिन्न तहको जिम्मेवारीपछि एनसीसी बेलायतको अध्यक्ष, युरोप क्षेत्रको क्षेत्रीय संयोजक र पछि २०१७ मा अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष सम्म भएका आचार्य २०१९ को निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी थिए ।

आचार्यले आफ्नो चुनावी प्रचार एकदम तीब्र गतिमा अगाडि बढाएका छन् । चुनावी अभियानका क्रममा उनी अहिले नेपालमा छन् । यसैक्रममा काठमाडौमा नै उनले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा सभाको आयोजना गरेका हुन् ।

यो पटक अन्तराष्ट्रिय परिषदको प्रवक्ता समेत ५९ पदाधिकारी पदमध्ये प्रवक्ताबाहेक ५८ सिटमा सहकार्य गर्नेहरुलाई उम्मेदवार बनाएर ठूलो टिम लिएर जाने उनको योजना रहेको छ । उनीहरु मध्ये धेरैजनाले कुल आचार्यलाइ समर्थन गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्ने कुरा बुझिएको छ ।

वर्तमान सल्लाहकार तथा पूर्व उपाध्यक्ष रहेका कुल आचार्यको होम कन्ट्री भने बेलायत हो । उसो त उनका व्यबसाय युरोपका अन्य देशमा पनि छन् । बेलायतको राष्ट्रिय समन्वय परिषद हुँदै, यूरोप क्षेत्रको क्षेत्रीय संयोजक, केन्द्रिय उपाध्यक्ष समेत रहिसकेका आचार्य योपटक पुरै तयारीका साथ आएका छन् ।

घोषणा सभा जुम र उपस्थित भएका दुवैथरीको लागि ब्यबस्था गरिएको छ । खासगरी अध्यक्षका उम्मेदवार कुल आचार्य र उनलाई सघाउने, समर्थन गर्ने व्यक्तिहरुका साथै उनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्ने उम्मेदवारहरु पनि उपस्थित हुने भएका छन् । आचार्यले केहीदिन पहिले जन्मभुमि पर्बतबाट पनि आफ्नो उम्मेद्वारि घोषणा गरेका थिए ।

एनआरएनएको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा सम्मेलन आगामी अक्टुवर २३–२५ मा हुँदैछ । यससंगै संघको निर्वाचन समितिले अक्टुवर २० मा नयाँ नेतृत्वको लागि अनलाइन भोटिङ गर्ने मिति तोकिसकेको छ ।

यो पटक अनलाइनबाट मतदान गरेर नेतृत्व चयन गर्न संघ तयारीमा जुटेको छ । यसैबीच महाशिवेशन प्रतिनिधिको विवाद मिलाउन संघले संरक्षकहरुको जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *